हुलाकी न्यूज, काठमाडौं, २५ मंसिर । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग सहकार्य नगर्ने राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनको निर्णय मधेशका जिल्लाहरुमा कार्यान्वयन नहुने भएको छ । गठबन्धनका जिल्ला समितिहरु र जिल्लाका मुस्लिम अगुवाहरुले केन्द्रले जस्तो निर्णय गरेपनि जिल्लामा मधेशी मोर्चासँगको सहकार्यमै आन्दोलन अगाडि बढाउने निर्णय गरेका छन् ।
आन्दोलनका कार्यक्रमहरु सँगै सञ्चालन गरिरहेको भएपनि मधेशी मोर्चाले मुस्लिमहरुका मागलाई बेवास्ता गर्दै आफूलाई नसोधी विभिन्न निर्णय लिएको भन्दै गठबन्धनले मोर्चासँग अलगिने निर्णय गरेको थियो ।
गठबन्धनको केन्द्रिय समितिले लिएको निर्णयको मधेशका विभिन्न जिल्लाहरुमा भने विरोध भएको छ । धनुषा, सर्लाहीलगायतका जिल्लाहरुमा गठबन्धनमा आबद्ध मुस्लिम नेता र अगुवा मुस्लिमहरुले केन्द्रको निर्णय नमान्ने बताएका छन् ।
गठबन्धन धनुषाको बिहिवार बसेको आकस्मिक बैठकले केन्द्रको निर्णय नमान्ने र जिल्लामा सहकार्य जारी राख्ने निर्णय गरेको छ । बैठकपछि गठबन्धन धनुषाको तर्फबाट निकालिएको विज्ञप्तिमा मधेशी जनताको हक अधिकारको लागि थालिएको आन्दोलनमा आफ्नो पुर्ण समर्थन रहने उल्लेख गरिएको छ ।
गठबन्धन धनुषाका संयोजक मौलना इजराईल रिजवी र सचिव ईद मोहम्मद साफी(जानी)ले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा जारी आन्दोलनलाई समर्थन गर्दै शुक्रवार दिउँसो २ बजे स्थानीय पगलाबाबाको चौकबाट ऐक्यवद्धता र्याली निकाल्ने जनाइएको छ । गठबन्धन धनुषाले गठबन्धनको निर्णयले मधेशका सम्पुर्ण मुस्लिम समुदायको भावनासँग खेलवाड भएकोले केन्द्रिय गठबन्धनद्वारा जारी गरिएको विज्ञप्ती सच्याउन माग समेत गरेको छ ।
गठबन्धनका केही पदाधिकारीहरु आफ्नो व्यक्तिगत स्वार्थका लागि मधेशी मोर्चासँग अलगिएर आन्दोलन कमजोर पार्न खोजेको जिल्ला समिति धनुषाको आरोप छ । करिव ४ महिनादेखि मधेश आन्दोलनमा एक घटक दलको रुपमा आन्दोलनमा ऐक्यवद्धता गर्दै आएको भएपनि आन्दोलन निर्णायक तहमा पुग्न लाग्दा मोर्चासँग अलगिने निर्णय उचित नरहेको धनुषा समितिको ठहर छ ।
त्यस्तै बिहिबार नै सर्लाहीको मंलगबामा भएको कार्यक्रममा मुस्लिम संघर्ष समितिका नेता डा. वसी अहमद मिकरानीले जारी मधेश आन्दोलनमा पूर्ण समर्थन र ऐक्यबद्धता रहेको बताए । उनले मुस्लिम गठबन्धनले मधेशी मोर्चाबाट अलगिने निर्णय गरेको भएपनि सम्पूर्ण मुस्लिम समुदाय मधेश आन्दोलनमा काँधमा काँध मिलाएर अगाडि बढ्ने बताए । डा. मिकरानीले मधेश आन्दोलनको आवश्यकता पहिले नै महसुस गरिएको भएपनि अहिले आएर उत्कर्षमा पुगेको र जारी आन्दोलनको सफलताका लागि आफ्ना सबै पिडा बिर्सेर आफ्नो सर्वस्व गुमाउन पनि तयार रहेको बताए ।
साहित्यकार सम्मेलनमा डा. मिकरानीले मधेशी आन्दोलन उत्कर्षमा रहेका बेला राज्य संयन्त्रबाट यसलाई तुहाउने षड्यन्त्र भइरहको प्रति सबैलाई सचेत रहन आग्रह गरे । सम्मेलनमा डा. मिकरानीले और कितना खुन चुसेगा मधेशी लाल का बोलको कविता वाचन गरेका थिए ।
त्यस्तै अन्य साहित्यकारहरुमा कवि नसिम नुरानीले जारी आन्दोलनमा साहित्यकारहरुको पुर्ण समर्थन रहेको बताए । साहित्यकार मो. अख्त्तर खुटनबीले मधेशीलाई केवल मधेश चाहिएको भन्दै जति सहादत दिनुपरे पनि मधेश लिएरै छाड्ने बताए ।
सम्मेलनमा सहभागी सबैजसो साहित्यकारले मधेश आन्दोलन र मधेशी अधिकारका कविता तथा रचना प्रस्तुत गरेका थिए ।





