हुलाकी न्यूज, काठमाडौं, २४ मंसिर । गएका केही हप्तामा प्रहरीले स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ता र समर्थकमाथि नियन्त्रण बढाएको छ । गत मंसिर १० गते मात्र देशभरबाट डा. सीके राउतका सयौं कार्यकर्तालाई गिरफ्तार गरेको नेपाल प्रहरीले त्यसपछि पनि राउतका समर्थक र कार्यकर्तालाई पक्राउ गर्ने क्रम जारी राखेको छ ।
सर्लाहीको मलंगवाबाट बिहिबार स्वतन्त्र मधेश गठबन्धनका केन्द्रिय उपसंयोजक कैलाश महतोसहित दर्जनौं कार्यकर्ता पक्राउ परेका छन् । गठबन्धनले समसामायिक राजनीतिक विषयमा राखेको अन्तरक्रियामा सहभागी भएका कार्यकर्ताहरुलाई बिना कारण नेपाल प्रहरीले पक्राउ गरेको गठबन्धनले जनाएको छ । पक्राउ पर्नेहरूमा धर्मलाल राय, हृदयनारायण चौधरी, सरोज यादवलगायतका रहेका छन् ।
बन्दुक बोकेर आएका सशस्त्र प्रहरीले बल प्रयोग गर्दै र धम्काउँदै करीब तीन सय सहभागीलाई तितरवितर गरेको र कार्यक्रम स्थलमा तोडफोड गर्नुका साथै ब्यानर समेत खोलेर लगेको गठबन्धनले आरोप लगाएको छ ।
यस अघि मंसिर २१ गते सोमबार ललितपुरको पाटन औद्योगिक क्षेत्र भित्रबाट आशुतोष प्रिन्टिंग प्रेसका मालिक रोशन साहलाई नेपाल प्रहरीले गठबन्धनको पर्चा छापेको अभियोगमा गिरफ्तार गरेको थियो । पक्राउ परेका साहलाई स्थानीय प्रशासनले सार्वजनिक मुद्दाको कारबाही अगाडी बढाएर हिरासतमै राखेको छ । उनलाई यातना दिएर राखिएको पनि गठबन्धनले जनाएको छ ।
यसअगाडि मंसिर ८ गते बाराको बरियारपूरबाट गठबन्धनका ब्रजेश कुमार सिंह, सदाम अंसारी, विनोद शर्राफ र बिटू साहलाई गिरफ्तार गरिएको थियो । उनीहरु चारै जनामाथि झूठा खरखजाना ऐनको मुद्दा चलाइएको पनि गठबन्धनको आरोप छ ।
ब्रजेश कुमार सिंह र सदाम अंसारीलाई पुर्पक्षका लागि वीरगंज कारागारमा पठाइएको छ, भने बाँकी दुई जनालाई हिरासत मुक्त गरिएको छ ।
मंसिर १० गते रंगभेदी गिरफ्तारीको वार्षिकी मनाउने क्रममा विभिन्न जिल्लाबाट नेपाल प्रहरीले १०० भन्दा बढी प्रदर्शनकारीलाई गिरफ्तार गरेको थियो । काठमाडौंमा संयुक्त राष्ट्रसंघको भवन अगाडिबाट ३१, सिरहाबाट ३४, रौतहटबाट २४, बाराबाट ४ र पर्साबाट १ जनालाई गिरफ्तार गरिएको थियो । विराटनगर र लहानमा प्रहरीले बल प्रयोग गर्दा शांतिपूर्ण प्रदर्शन गरिरहेका करिब आधा दर्जन कार्यकर्ताहरू घाइते भएका थिए ।
यसैबीच, स्वतन्त्र मधेश गठबन्धनले प्रहरीले अनाहकमा निर्दोष कार्यकर्ताहरुलाई समात्ने गरेकोप्रति आपत्ति जनाएको छ । गठबन्धनले विज्ञप्ति जारी गर्दै शांतिपूर्ण विचारमूलक अन्तरक्रिया कार्यक्रमहरूलाई समेत नेपाल प्रहरीले बन्दुकको बलमा बिथोल्ने र नेपाल सरकारद्वारा गठबंधनका कार्यकर्ताहरुमाथि चरम दमन गर्दै झुठा मुद्दा लगाएर फसाउने घृणित कार्यको भत्र्सना गर्नुका साथै पत्रकार, मानवअधिकारकर्मी तथा अन्तर्राष्ट्रिय समुदायलाई नेपाल सरकारको कदमविरुद्ध आवाज उठाईदिन अपिल गरेको छ ।




