हुलाकी न्यूज, पोखरा । डा. सी के राउत नेतृत्वको जनमत पार्टीले आफ्ना पूर्व निर्धारित कार्यक्रम अनुसार माघ १२ गते पांच वटा प्रदेशको मुख्यमन्त्री कार्यालयमा किसानका समस्या समाधानका लागी ११ बुंदे माग राखी ज्ञापन पत्र बुझाएको छ ।

प्रदेश १ मा जनमत पार्टीका उपाध्यक्ष ई. दीपक कु. साहको हस्ताक्षरित ज्ञापन पत्र लिएर जनमत पार्टी मोरङ जिल्ला अध्यक्ष बुद्धि माझीले प्रदेशका मुख्यमन्त्री माननीय श्री राजेन्द्र कुमार राई समक्ष ज्ञापन पत्र बुझाइएका छन ।
त्यस्तै मधेश प्रदेशमा पार्टीका उपाध्यक्ष ई. बसन्त कु. कुशवाहाको नेतृत्वमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा मुख्यमन्त्रीको अनुपस्थितिमा कार्यालय अधिकृत सुरेन्द्र कर्ण मार्फत मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।

त्यसैगरी बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा जनमत पार्टीकी उपाध्यक्ष श्रीमती बबिता इसरको नेतृत्वमा बागमती प्रदेशका मुख्यमन्त्री माननीय श्री राजेन्द्र प्रसाद पाण्डे समक्ष ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएकी छन ।
त्यस्तै लुम्बिनी प्रदेशमा जनमत पार्टीका सचिव भोपेन्द्र प्रसाद यादवको नेतृत्वमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रमुख सचिव डिल्लीराम शर्मा मार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

त्यसैगरी गण्डकी प्रदेशमा मुख्यमन्त्री माननीय श्री कृष्णचन्द्र नेपाली पोखरेल समक्ष जनमत पार्टीका गण्डकी प्रदेश अध्यक्ष महेन्द्र प्रसाद शर्माको नेतृत्वमा किसान आन्दोलनको मुद्दा तथा किसानका मागहरुबारे ज्ञापनपत्र बुझाइएको छ।

प्रत्यक्ष ज्ञापन पत्र बुझिलिने क्रममा सबै मुख्यमन्त्री ज्यूहरु बाट किसानका मागहरुमा आफू सकारात्मक रहेको र छिट्टै समाधानको लागी पहल गर्ने बचनबद्वता दिएको जनमत पार्टीका उपाध्यक्ष मो. अब्दूल खानले जानकारी दिएका छन ।
जनमत पार्टीको नेतृत्वमा बिगत १ महिनादेखी निरन्तर किसान आन्दोलन चलिरहंदा समेत केन्द्र र प्रदेश सरकारहरु कानमा तेल हालेर सुतेको पार्टीकी उपाध्यक्ष बबिता इसरले प्रतिक्रिया दिइन ।
त्यसैगरी पार्टीका उपाध्यक्ष ई. बसन्त कु. कुशवाहाले – सरकारले समयमै किसानको समस्या समाधानका लागी चासो नदेखाएको खण्डमा आन्दोलनका कार्यक्रमहरु अझ शसक्त ढंगले अगाडी बढाउने र माघ २० गते देखी देखी राजमार्गमा टेन्ट लगाई बसेर पूर्ण चक्काजाम समेत गरिने उनले बताए ।
ज्ञापनपत्र को पूर्ण पाठः
मितीः २०७८ माघ १२ गते
श्री मुख्य मन्त्रीज्यू
प्रदेश सरकार, प्रदेश नं. …,
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, … ।
विषय: किसान आन्दोलन सम्बन्धमा
महोदय,
जनमत पार्टीको नेत्तृत्वमा देशभरिकै किसानहरू तपसिलका मागहरू राखेर करीब एक महिनादेखि आन्दोलित भइराखेको सर्वविदित् नै छ। किसान आन्दोलनका मागहरू यथाशीघ्र पूरा गर्न जनमत पार्टी प्रदेश सरकारसँग हार्दिक अनुरोध गर्दछ।
किसान आन्दोलनका मागहरू:-
1) किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नु पर्ने
2) समयमा मलखाद र बीउको व्यवस्थाको सुनिश्चितता गर्नु पर्ने
3) सिंचाईको व्यवस्था गर्नु पर्ने, नसके सिंचाई बिजुली निशुल्क गर्नु पर्ने
4) बेमौसमी हावाहुरी र वर्षाले भएको बालीनाली क्षति वापत् राहत दिनु पर्ने
5) फसलको उचित समर्थन मूल्य निर्धारण गर्नु पर्ने
6) उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी गर्नु पर्ने
7) किसान कार्डको व्यवस्था गर्नु पर्ने – किसान कार्ड देखाएर सीमा नाकाको बजारबाट मलखाद, बीउ र कृषि औजार सहितका सामान ल्याउन पाइने सुविधा दिनु पर्ने
8) किसानको लागि पनि पेन्सनको व्यवस्था गर्नु पर्ने
9) स्वत: बालीनाली वीमा हुने सुनिश्चितता गर्नु पर्ने
10) किसानमाथि दमन बन्द गरी झुठा मुद्दा खारेज गरिनु पर्ने
11) गिरफ्तार आन्दोलनकारीलाई नि:शर्त्त रिहा गरी मुद्दा खारेज गरिनु पर्ने
भवदीय,
डा. सी के राउत
केन्द्रीय अध्यक्ष, जनमत पार्टी






