राजेश सिंह, नयाँ दिल्ली, २४ मंसिर । भारत भ्रमणमा रहेका मधेशी मोर्चाका नेताहरुले बुधबार अन्तर्राष्ट्रिय सहयोग परिषद र नेपाल–भारत महिला मैत्री समाजद्वारा संयुक्तरुपमा आयोजना गरिएको ‘नेपाल–भारत सम्बन्ध : अवसर र चुनौती’ विषयक गोष्ठीलाई सम्बोधन गरेका थिए । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले विगतमा नेपाल सरकारले मधेशी, जनजाति र थारूसंग गरेको समझौताबाट धेरै पछि हटेर यो संविधान बनाएको बताए ।

मधेशीहरुले अधिकारको माग गर्दा नेपाल सरकारले ताकि–ताकि छाति र टाउकोमा गोलि हानि नरसंहार गरिरहेको भनि ठाकुरले जानकारी गराएका थिए । नेपालको नयाँ संविधान खस–आर्य समुदायले अरुलाई पाखा लगाई आफूखुशी ल्याएकोले यो मधेशी, जनजाति र थारुको संविधान हुन नसक्ने ठोकुवा गरे । नेपाल सरकार र खस–आर्य समुदायले नयाँ संविधान विश्वको उत्कृष्ट संविधान हो भनि भ्रमको खेती गरिरहेका छन् भनि आरोप लागाए ।

उनले विश्वको उत्कृष्ट संविधान हो भने देश भित्रकै एक तिहाई घरधुरीमा दिपावली भयो तर दुई तिहाईमा किन दियो पनि बालिएन भनि प्रश्न गरे । यो पहिचान र अधिकारको आन्दोलन भएकोले सो प्राप्त नहुन्जेलसम्म जारी रहने उनको भनाई थियो । ।

मोर्चाका अर्का नेता तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले देशलाई समावेशी लोकतन्त्रको दिशामा लैजानका लागि यो आन्दोलन भैरहेको बताए । भारतीय जनता र सरकारले नेपालको प्रत्येक परिवर्तनमा सहयोग र समर्थन दिएकाले यस विभेद विरुद्धको लडाईमा पनि दिरहेको सहयोग र समर्थनको गति अझ तीव्र बनाउनका लागि अनुरोध गरे । उनले नेपाल–भारतको सम्बन्ध अति विशिष्ट भएकोले यसलाई कुटनीतिक सम्बन्धले मात्र गाइड गर्न नसक्ने जिकिर गरे ।

गोष्ठीलाई सम्बोधन गर्दै नेपाल विशेषज्ञ तथा प्राध्यापक एसडी मुनिले मधेशी आन्दोलन विभेद विरुद्धको आन्दोलन भएकोले भारत सरकारले मधेशीमाथि कुनैपनि अनुचित दबाब दिन नहुने सल्लाह दिए । साथै उनले नेपालका सत्ताधारी दलहरुबीच अत्याधिक विरोधाभास रहेकोले संविधान संसोधनको निश्चितता नभएको भनि शंका जनाए । एक अर्को प्रसंगमा उनले भारत सरकारले हिन्दु राष्ट्रको एजेण्डालाई थोपर्नु भन्दा पनि हालका लागि मधेशीको मागलाई सम्बोधन गराउन निर्णायक भूमिका खेल्नुपर्छ भनि सुझाव दिए ।

सम्बोधन गर्ने क्रममा नेपालका लागि भारतका पूर्वराजदूत शिवशंकर मुखर्जीले सन् २००८ माघमा मेरो प्रत्यक्ष निगरानीमा तत्कालीन नेपाल सारकार र मधेशी मोर्चाबीच भएको सहमतिलाई संबिधान बनाउने क्रममा नेपालको निवर्तमान र हालको सरकारले पालना गरेको साथै अन्तरिम संविधानमा राखेको प्रावधानहरुलाई समेत हटाएर यो संविधान ल्याएको ठोकुवा गरे । उनले नेपाल विश्वमा षड्यन्त्रको देशले चिनिने गरेको बताए । हाल नेपाल–भारत समबन्ध कुनै पनि दृष्टिकोणले खतरामा नरहेको र भारत सरकारले लिएको नीति एकदम उचित रहेको ठोकवा समेत गरे ।

उक्त सभालाई भारत सरकारका पूर्व मन्त्री बिएस कोसियारी, नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरी, अन्तर्राष्ट्रिय सहयोग परिषद्का अध्यक्ष श्री सशांकले समेत सम्बोधन गरेका थिए । कार्यक्रममा नेपालका लागि भारतका पूर्व राजदूतहरु, नेपाल राजदूतावासका कन्सुलरहरु, नेपाल–भारत सम्बन्धि नीति निर्माताहरुको उपस्थित रहेको थियो ।

मधेशी मोर्चाका चार नेतामध्ये महन्थ ठाकुर र उपेन्द्र यादव भारतको चार दिने भ्रमण पुरा गरी बुधबार राति नेपाल फर्किसकेकाछन् भने राजेन्द्र महतो र महेन्द्र राय यादव उपचारको शिलशिलामा अझ केही दिन दिल्लीमा रहने जानकारी प्राप्त भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.