
हुलाकी न्यूज, जनकपुरधामः मधेशमा जारी किसान आन्दोलनमा आर्थिक सहयोग जुट्न थालेको छ।
किसान आन्दोलनलाई सफल बनाउन सिंगापुरमा बस्ने डा.श्याम बाबु महतोले ५० हजार रुपैंया सहयोग गरेका छन्।
डा.महतोले किसान आन्दोलनमा आर्थिक सहयोग गर्न किसान प्रेमी तथा किसानका छोराछोरीहरुलाई अपीलसमेत गरेका छन्।
‘नेपाल कृषि प्रधान देश हो भन्नेछ। करिब ८० प्रतिशत जनता कृषिमा आधारित छन्।’ हुलाकी न्यूजसँग डा.महतोले भने, ‘तर किसानले सरकारबाट मल, बीउ र सिँचाइ जस्ता सुविधा समयमै पाएका छैनन्। किसानको पीडालाई संघीय सरकारदेखि स्थानीय सरकारका छोटेबडे राजाहरुले मतलव गरेका छैनन्।’
डा.महतोले भने, ‘किसानहरुको समस्या कसैले नसुनेपछि अहिले पुर्वदेखि पश्चिम मधेशसम्ममा जनमत पार्टीको अगुवाइमा किसानहरु आन्दोलित भएका छन्। यस आन्दोलनमा आम सर्वसाधारण जनताले सहयोग गर्नुपर्छ। किसानहरुको ११ बुँदे माग पुरा भए सम्पूर्ण किसानलाई फाइदा हुनेछ।’
डा.महतोले किसान आन्दोलनमा लागेका सम्पूर्ण किसान तथा नेताहरुमा उच्च मनोबल रहेको भन्दै आन्दोलन सफल हुने विश्वास व्यक्त गरे।




