
हुलाकी न्यूज, बर्दिबास(महोत्तरी): महोत्तरी जिल्लाको विभिन्न स्थानसहित बर्दिबासमा समेत किसानहरुले प्रदर्शन गरेका छन्। जारी किसान आन्दोलनको समर्थनमा बर्दिबासको रातो नदीको पुलमा किसानहरुले पूर्व–पश्चिम राजमार्गमा चक्का जाम गरेका छन्।
जनमत पार्टीमा महासचिव चन्दन सिंहका अनुसार सयौंको संख्यामा किसानहरुले बर्दिबासमा प्रदर्शन गरेका हुन्। महासचिव सिंहका अनुसार बर्दिबासमा नियमित प्रदर्शनका लागि किसान आन्दोलन समितिसमेत गठन गरिएको छ।
मक्सुदन महतोको नेतृत्वमा किसान आन्दोलन जनपरिचालन समिति गठन गरिएको छ । समितिको सचिवमा विनोद महतोलगायत रहेका छन्।
विभिन्न ११ बुँदे माग राख्दै तराई मधेशका विभिन्न जिल्लामा किसानहरु आन्दोलित भएका छन्। जसको नेतृत्व जनमत पार्टीले गर्दै आएको छ।
किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नु पर्ने, समयमा मलखाद र बीउको व्यवस्था गर्नु पर्ने, सिंचाईको व्यवस्था गर्नुपर्ने नसके सिंचाई बिजुली निशुल्क गर्नु पर्ने माग किसान आन्दोलनको रहेको छ।
यसैगरी, हावाहुरी र वर्षाले भएको बालीनाली क्षति वापत् राहत दिनु पर्ने, कृषि उपचको उचित समर्थन मूल्य निर्धारण निर्धारण गर्नुपर्ने, उखु किसानको भुक्तानी गर्नुपर्ने माग रहेको छ।
किसान कार्डको व्यवस्था गरी किसान कार्ड देखाए सीमानाकाका बजारबाट सामान ल्याउन पाइने व्यवस्था गर्नुपर्ने, किसानलाई पनि पेन्सनको व्यवस्था गर्नुपर्ने, स्वतः बालीनाली वीमा हुने सुनिश्चितता हुनु पर्ने, किसानमाथिको मुद्दाहरु फिर्ता हुनु पर्ने माग किसान आन्दोलनको रहेको छ।



