हुलाकी न्यूज, काठमाडौं, २४ मंसिर । दिल्ली भ्रमणमा रहेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका दुई नेता बुधबार राति नेपाल फर्केका छन् । भ्रमणमा रहेका मोर्चाका चार जना नेतामध्ये तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव हवाईमार्ग हुँदै बुधबार मध्यरातमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।
विमानस्थलमा संचारकर्मीलाई प्रतिक्रिया दिँदै फोरम नेपालका अध्यक्ष यादवले आन्दोलन अझै जारी रहेको बताए । उनले सरकारले मधेशको माग पुरा नगरेसम्म आन्दोलन र नाकाबन्दी जारी रहने बताए ।
अध्यक्ष यादवले भने, ‘हामी समाधान खोज्न भारत भ्रमणमा गएका थिएनौं, समाधान नेपालभित्रै खोज्ने हो । तर, मधेशको माग पुरा नहुँदासम्म आन्दोलन जारी रहन्छ । नाकाबन्दी खुल्दैन ।’
अध्यक्ष यादवले मधेश आन्दोलनको बारेमा नेपाल सरकार र विभिन्न राजनीतिक दलले भारतमा अनर्गल भ्रम फैलाएको भन्दै आफूहरुको भारत भ्रमणले उक्त भ्रम हटेको दाबी गरे ।
उनले सरकारले ल्याएको संशोधन प्रस्ताव आन्दोलनको भावना विपरित रहेको टिप्पणी गरेका छन् । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच राजनीतिक समिति बनाएर तीन महिनाभित्र सीमांकनको विवाद टुंग्याउने गरी शुक्रवार भएको सहमतिलाई अध्यक्ष यादवले अस्वीकार गरेका छन् । उनले तीन दलको संशोधन प्रस्ताव मधेश आन्दोलन तुहाउने षड्यन्त्र मात्र भएको प्रतिक्रिया दिएका छन् ।
सीमांकन नै मोर्चाको प्रमुख मुद्दा भएको भन्दै यादवले प्रमुख मागबाटै विमुख गर्ने उधारो प्रस्ताव मान्य नहुने पनि प्रष्ट पारेका छन् ।



