हुलाकी न्यू्ज, रुपन्देही । सिराहा देखि सुरु भएको किसान आन्दोलनमा जनमत पार्टी रुपन्देहीले समेत ऐक्यबद्धता जनाएको छ ।
पुस १३ गते रुपन्देहीको गैडहवामा किसान जनमत संघको अगुवाईमा किसानको समस्या समाधानको माग राखी शान्तिपूर्ण र्याली निकाल्दै जनमत पार्टी रुपन्देही द्वारा एक प्रेस विज्ञप्ति जारी गरी मधेशका बिभिन्न जिल्लामा भइरहेका किसान आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।
देशकै अन्नभण्डार भनिएको मधेशमा किसानहरुले हरेक बर्ष खेतीपातीको समयमा मलखाद तथा बिऊ-बिजनको अभाव झेल्दै आएको तथा देशमा केन्द्र, प्रदेश र स्थानीय सरकार हुँदाहुँदै किसानको आवश्यकतालाई तीनै तहका सरकारले बेवास्ता र नजरअन्दाज गरिरहेको जनमत पार्टी – रुपन्देहीको ठहर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पीडित किसानले पटक-पटक आफ्ना माग राखी आन्दोलन गरिरहँदा माग सुनुवाइ गर्नु साटो सरकार र प्रशासनद्वारा किसानमाथि दमनको नीति लिएको आरोप लगाएको छ ।
जनमत पार्टी रुपन्देहीका जिल्ला अध्यक्ष रामबिष्णु सिंह लोध द्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा – किसान र आन्दोलनकारी उपर लगाइएका झुट्टा मुद्दाहरु फिर्ता गर्नुपर्ने, समयमा मलखाद र बीउबिजनको व्यवस्था गर्नुपर्ने, सिंचाईको व्यवस्था गर्नुपर्ने र यदि गर्न नसके सिंचाईको बिजुली निःशुल्क गर्नुपर्ने, हावाहुरी र वर्षाले भएको बालीनाली क्षति बापत तत्काल राहत दिनुपर्ने, किसानको फसलको उचित मूल्य कायम गर्नुपर्ने र किसानको समस्या समाधानको लागी मन्त्री स्तरीय वार्ता समिति गठन गर्नुपर्ने लगायतका माग राखिएको छ ।
मागहरु पुरा गराउने सम्बन्धमा यथाशिघ्र तदारुकता नदेखाएमा वा बेवास्ता गरेको खण्डमा जनमत पार्टी रुपन्देही द्वारा बाध्य भई आन्दोलनका कार्यक्रमहरु घोषणा गरिने र उक्त आन्दोलनबाट पर्नसक्ने असर एवं असुविधाप्रति सरकार स्वयं जिम्मेदार हुने विज्ञप्तिमा भनिएको छ ।
किसानहरूको जायज मागहरु पुरा गराउने अभियान स्वरूप सिराहा, सप्तरी, धनुषा, सर्लाही, रौतहट, बारा लगायतका जिल्लाहरुमा आन्दोलनका कार्यक्रमहरु जारी रहेको छ ।