२९ मंसिर , दिपेन्द्र यादव / जनकपुरधामः जनमत पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकले उम्मेदवारहरुको आर्थिक मापदण्ड तय गरेको छ।
उम्मेदवार चयनको प्रक्रियाहरु निर्धारण गर्दै पार्टीले वडा अध्यक्षमा चुनाव लड्ने भए २ लाख ५० हजार रकमको व्यवस्था भएको देखाउनु पर्ने मापदण्ड बनाएको छ। उक्त रकम उम्मेदवारले प्रचारप्रसार, चुनावी सभा, स्वयम्सेवक व्यवस्थापन र धरौटीका लागि तिर्नु पर्नेछ।
मंगलबारदेखि बुधबारसम्म धनुषा जिल्लाको ढल्केबरमा चलेको जनमत पार्टीको विस्तारित बैठकको समापन गर्दै अध्यक्ष डा.सीके राउतले जनता माझ काम गरेका उम्मेदवारले विना पैसा पनि चुनाव जित्न सक्ने बताए। तर, डा.राउतले न्यूतम् खर्च उम्मेदवारले आफै व्यवस्था गर्नु पर्ने सुनाए।
‘पैसा नहुँदा चुनाव नलड्नुस् भनेको होइन तर आवश्यक समान्य खर्च उम्मेदवारले आफै व्यवस्था गर्नु पर्नेछ’, डा.राउतले भने,‘जो उम्मेदवारले क्षेत्रमा काम गरेका छन् उनको लागि खर्च व्यवस्थापन ठूलो समस्या होइन। उहाँहरुलाई जनताले आफै सहयोग गर्नेछ। तर पनि न्यूतम् खर्चको व्यवस्थापन गर्नु पर्नेछ।’
उम्मेदवारबाट पार्टीलाई कुनै पैसा नचाहिने प्रष्ट पार्दै अध्यक्ष डा.राउतले उक्त रकम खर्च गर्ने मानसकिता बनाएर राख्न आग्रह गरे।
पालिका अध्यक्ष र वडा अध्यक्षबीच तालमेल भए खर्च पनि आधा हुने जनाइएको छ। पालिका अध्यक्षले न्यूनतम् १२ देखि १५ लाख र प्रदेश सभा सदस्यका उम्मेदवारले न्यूनतम् २५ लाख तथा प्रतिनिधिसभाका उम्मेदवारले न्यूतम् ५० लाखको व्यवस्था गरेको देखाउनु पर्ने जनाइएको छ।चुनावमा भोट खरिदमा पैसा खर्च नगर्न भनिएको छ।



