रबिन्द्र प्रताप गुप्ता, भैरहवा २३ मंसिर । रुपन्देहीको छोटकी रामनगर ६ स्थित मझौलि चौराहामा अन्तर्रा्ष्ट्रिय स्तरको विराट कुस्ती प्रतियोगिता हुने भएको छ ।
यहि मंसिर २७ र २८ गते हुने कुस्ती प्रतियोगितामा ख्याती प्राप्त कुस्ती पहलमान शंकर थापा, राजेन्द्र यादवलगायत भारतबाटसमेत अन्य पहलमानहरु पनि सो प्रतियोगितामा सहभागि हुन आउने आयोजक बजरंग समितीका संयोजक जय प्रकाशले बताए ।
मधेशमा भोजपुरी विरहा लोक संस्कृति लोप हुँदै गएकोले त्यसलाई संरक्षण गर्न मंसिर २६ गते विरहा कार्यक्रम पनि आयोजना गरिएको समितिका संरक्षक देवेन्द्र पाण्डेले बताए । उनले भारतका ख्याती प्राप्त विरहा गायक वीएम सहानी र स्थानीय स्तरका कलाकारहरुको पनि प्रस्तुति रहने जानकारी दिए ।
कुस्ती प्रतियोगिताका विजेताहरुलाई बेस्ट पुरस्कार मोटरसाइकल, प्रथम पुरस्कार ५० हजार १ सय नगद, द्वितीय पुरस्कार एलइडि टिभि, तृतीय पुरस्कार साइकल एवं नगद ५ हजार र सान्त्वना पुरस्कार टिशर्ट र नगद पैसा प्रदान गरिने आयोजक समितीका उप–संयोजक जगदीश सहानीले बताए ।
कुस्ती प्रतियोगिता र विरहाको कार्यक्रमको दर्शकलाई निशुल्क अवलोकन गर्ने व्यवस्था मिलाइएको र कार्यक्रम स्थलमा मदिरा बेचबिखनमा पुर्ण रुपमा बन्देज गरिने आयोजकले जनाएका छन् ।



