हुलाकी न्यूज, नयाँ दिल्ली २२ मंसिर । दिल्लीको जवाहर लाल नेहरु विश्व विद्यालयलगायत अन्य विश्वविद्यालयमा अध्ययनरत मधेशी–थारु विद्यार्थीहरुको समूह ‘तराई–मधेश अध्ययन समूह’मंगलबार मधेशी मोर्चाका नेताहरुसँग विशेष अन्तरक्रिया गरेका छन् ।
जेएनयूका ईमेरीटस प्रोफेसर एस.डी.मुनीले अध्यक्षता गरेको कार्यक्रममा मोर्चाका नेताहरु सहभागि थिए । मुनीले नै विभिन्न प्रश्न राख्दै कार्यक्रममो सुरुवात गरेका थिए ।
अन्तरक्रियामा तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशीको कुनै पनि माग नयाँ नरहेको, सबै मागहरु अन्तरिम संविधानले स्वीकार गरिसकेको बताएका छन् । ठाकुरले सम्पूर्ण तराई–मधेशलाई दुई प्रदेशमा विभाजन गर्नु पर्ने, समानुपातिक समावेशी, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नु पर्ने र नागरिकताको सवालमा अन्तरिम संविधानमा भएको व्यवस्थालाईनै लागु गर्नुपर्ने जिकिर गरे ।
त्यस्तै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतले साथ दिए अथवा नदिए पनि आन्दोलन निरन्तर जारी रहने दाबी गरे । यादवले जनजातिहरुले पनि पहाडमा आन्दोलन सुरु गरिसकेको बताउँदै नेपाली शासकहरुको सोच नश्लवादी रहेको आरोप लगाए ।
त्यस्तै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले विभिन्न पहाडी दलहरूभित्र रहेका मधेशी सभासदहरुले संविधानमा हस्ताक्षर गरेर मधेशी जनतालाई धोका दिएको दाबी गरे । महतोले पहाडीहरु मधेश झर्दा जमिन लिएर नआएको बताउँदै मधेशको एक इन्च भूभाग पहाडमा मिल्न नदिने अडान दोहर्याए । उनले कुनै पनि जनमत संग्रह स्वीकार नगर्ने बताए ।
त्यस्तै तराई–मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र प्रसाद यादवले मधेश उपनिवेशको रुपमा रहेको बताउँदै आन्दोलनमा छिमेकी मुलुकको सहयोग आवश्यक रहेको बताए ।
जेएनयुको कार्यक्रमभन्दा अघि मोर्चाका नेताहरुले अब्जरबरस रिसर्च पाउण्डेसनले आयोजना गरेका अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गरेका थिए ।




