हुलाकी न्यूज, जनकपुरधाम । प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहमाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका छन् ।
नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सर्लाहीको वडा अधिवेशनमा पुगेका मन्त्री सिंहमाथि आक्रमण गरिएको हो ।
सर्लाहीको बलरा नगरपालिका वडा नम्बर–९ को अधिवेशनमा पुगेका मन्त्री सिंहमाथि अधिवेशनमै सहभागी कांग्रेस कार्यकर्ताले आक्रमण गरेका हुन् ।
अधिवेशन भइरहेको वडा कांग्रेस नेता अमरेशकुमार सिंहको गाउँ हो । आइतबार साँझ करिब ६ बजे घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।
मन्त्रीमाथि आक्रमण भएपछि उनका सुरक्षागार्ड रामचन्द्र खंगले हवाई फायर गरेका थिए । सोही क्रममा सुरक्षागार्ड खंगमाथि पनि रड प्रहार गरिएको एसपी प्रसाईंले बताए ।
रड प्रहारबाट मन्त्री सिंहका सुरक्षागार्ड खंग र अर्का एक सहयोगी रामचन्द्र महतो घाइते भएका छन् । घाइते दुवैजनाको मलंगवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ ।



