हुलाकी न्यूज, टीकापुर (कैलाली): मधेश–थरुहट आन्दोलनको क्रममा भएको टीकापुर बिद्रोहका कयौं आरोपितहरु अहिले पनि जेल जीवन बिताइरहेका छन्। जसमध्येका एक हुन् जानकी गाउँपालिका लत्कनियाका प्रदिप चौधरी।
२०७२ भदौ ७ गते भएको टीकापुर बिद्रोहपछि सयौं थारुहरु विस्थापित भएका थिए। थारुहरुको घर पसलमा आगजनी भएको थियो।
पक्राउ परेका करिब चार दर्जन थारुहरुमाथि मुद्दा चलाइयो र जिल्ला अदालत कैलालीले दोषी ठहर गरेका ११ जना अहिले पनि कारागारमा छन्।
जानकी गाउँपालिकाका प्रदिप चौधरी घरका एक्लो छोरा हुन्।
उनको आमा स्तन क्यान्सरबाट पीडित छिन्। क्यान्सरको अन्तिम स्टेजमा रहेकी उनको अन्तिम चाहाना छोरा प्रदिपलाई भेट्ने रहेको छ।
आर्थिक अभावमा उपचार हुन नपाएको उनको घरमै समान्य औषधिहरु दिइएर दुखाई कम गर्ने काम भइरहेको छ। प्रदिपका बुबाले श्रीमति अन्तिम स्टेजमा रहेकोले मृत्यु कुर्ने बाहेक अरु कुनै विकल्प नरहेको सुनाए।
हुलाकी न्यूजसँग कुराकानी गर्दै प्रदिपका बाबुले भने,‘घरको एक्लो छोरा वर्षौदेखि जेलमा छन्। आर्थिक अभावका कारण श्रीमतिको उपचार गर्न पाइएन। अहिले घरमै राखेर मृत्यु कुर्नु बाहेक कुनै विकल्प छैन।’
‘छोरालाई अन्तिम पटक भेट्ने भन्दै मेरो श्रीमती बारम्बार रुन छिन्। ओछ्यानबाट उठ्न सक्ने भएको भए जेल मै लगेर भेटाइ दिन्थे। तर उठ्ने आशा छैन,’ प्रदिपका पिताले भने,‘सिडियो साहाबमार्फत जेलरलाई भनेर प्रहरीकै घेरामा प्रदिपलाई केही बेरको लागि भएपनि घरमा आउन दिन निवेदन गरिरहेको छु। अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। मेरो बिन्ती छ अन्तिम पटक मेरो छोरालाई मेरो श्रीमतिसँग भेट गराइयोस्।’
स्थानीय गणेश चौधरीले आफूहरुले नेताहरुसँग पनि गुहार लगाएको तर कसैले नसुनेको बताए।
‘टीकापुर आन्दोलनपछि नेताहरुले कयौं आश्वासन दिए। केहीले चुनाव पनि जिते तर अहिले राजबन्दीहरुको परिवारलाई हेर्ने कोही भएन।’ चौधरीले भने,‘अब त नेता र पार्टीहरुबाट हाम्रो विश्वास नै उठ्यो।’
यता प्रदिपको आमाको उपचारका लागि टीकापुरकी स्थानीय दिव्या चौधरीले आर्थिक सहयोग संकलन गरिरहेकी छिन्।