हुलाकी न्यूज, जनकपुरधाम, १९ भदौ । शुक्रबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा तथा नेकपा–माओवादीले जनकपुरमा निकालेको शान्तिपूर्ण लाठी जुलुसमा प्रहरीले गरेको हस्तक्षेपको मधेशी मोर्चाले विरोध गरेको छ । प्रदर्शन सकिएपछि प्रहरीले जीरो माइल, दशरथसागर नजिकैको मुस्लिम मोहल्ला तथा देवीचौकमा घर–घरमा पसेर अमानवीय तवरले सर्वसाधारणलाई पिटेको र उत्तेजित बनाएको भन्दै मोर्चाले प्रहरीको यस्तो कार्यको निन्दा गरेको छ ।
मधेशी मोर्चाले प्रहरीद्वारा नै अशान्ति एवं सम्प्रदायिकता मच्चाउनु मधेश बिरोधी संविधान लाद्ने षडयन्त्र रहेको ठहर गरेको छ । शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मोर्चाआबद्ध दलहरुले प्रहरीको यस्तो कदमले जनता आक्रोशित भई उत्पन्न हुने स्थितिको जिम्मेवार प्रशासन हुने चेतावनी दिएको छ ।
मधेशी मोर्चा र नेकपा–माओवादीले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनकारीहरुबिच छद्मभेषमा रहेका केही उच्छृंखल तत्त्वहरू मधेश आन्दोलनका समाचार संप्रेषण गर्ने कार्यमा दत्तचित्त रहेका संचार संस्था र संचारकर्मीहरुमाथि हातपात र तोडफोडको दुष्प्रयासको घोर निन्दा गर्दै मधेश बिरोधी तथा प्रशासनिक तन्त्रबाट संचालित यस्ता तत्त्वहरुको बहकावामा नआउन र सतर्क रहन युवा आन्दोलनकारीहरुलाई हार्दिक अनुरोध गर्दछौं ।’
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले भदौ २१ गते विशाल बिरोध प्रदर्शनको आयोजना गर्ने पनि जनाएको छ ।




