हुलाकी न्यूज, जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री कार्यालयले खरिद गरेको साइकलमा अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले बताएका छन्।

‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत वितरणका लागि खरिद गरिएका साइकलमा अनियमितता भएको उजुरी परेपछि अख्तियारको टोलीले गत असोज १३ गते मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो। अख्तियारको टोलीले साइकल खरिदको फाइल नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।

अख्तियारको बर्दिबास कार्यालय प्रमुख सापकोटाले साइकल खरिदमा भएको अनियमितताको सम्बन्धमा परेको उजुरीमा प्रारम्भिक अनुसन्धानको क्रममा अनियमितता भएको देखिएको बताए।

उनले भने, ‘प्रारम्भिक अनुसन्धानको क्रममा अनियमितता भएको देखिएकाले त्यस चरणलाई सकाएर दोस्रो चरणमा विस्तृत रुपमा अनुसन्धान थालेका छौँ। त्यसका लागि छुट्टै अनुसन्धान अधिकृत नियुक्त भएर विस्तृतमा अनुसन्धान अगाडि बढ्छ।’

सापकोटाले विस्तृत अनुसन्धानमा अनियमितता भएको देखिएमा कर्मचारी तथा पदाधिकारीमाथि भ्रष्टाचारको मुद्दा दायर हुने बताए। विस्तृत अनुसन्धान हुन एक डेढ महिना लाग्ने सापकोटाले बताए।

उनले खरिदमा संलग्न कर्मचारीहरुको बयान लिने तथा प्रमाणहरुलाई परीक्षण गर्ने काम भइरहेको र यसमा पनि अनियमितता देखिए कारबाही प्रक्रिया अगाडि बढाइने बताए। विस्तृत अध्ययनको लागि केन्द्रीय टोलीले अनुसन्धान थालेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.