हुलाकी न्यूज, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२० देवपुरा रुपैठामा शनिबार मुस्लिम र हिन्दु समुदायबीचको विवादले उग्ररूप लिएको छ ।

दुई समुदायबीचको अवस्था तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । हिन्दु र मुस्लिमबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले करिब एक दर्जन अश्रुग्यास प्रहार गरेको छ ।
यही विवादले उग्ररूप लिँदा र त्यहाँ झडप हुँदा दुई प्रहरीसहित ३ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा एक सशस्त्र प्रहरी, एक जनपद प्रहरी र एक जना महिला रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।

छठ पर्वमा स्थानीय तेलिया पोखरीमा घाट निर्माण गर्ने बिषयमा मुस्लिम समुदायले अवरोध खडा गरेपछि भएको झडपमा हिन्दु समुदायका चार जना घाइते भएका थिए । सोही विषयलाई लिएर आज हिन्दुवादी संगठनहरु जनकपुरधामबाट प्रदर्शन गर्दै रुपैठा पुगेका थिए ।

रुपैठा गएको समूह र त्यहाँ रहेको मुस्लिम समुदायबीच झडप भएको हो । झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले एक दर्जन भन्दा बढी अश्रु ग्यास प्रहार गरेको थियो । यता, स्थानीय ओम प्रकाश पण्डितले आफूहरुलाई घरमा प्रवेश गरेर मुस्लिम समुदायका केही व्यक्तिहरुले कुटपिट समेत गरेको बताएका छन् ।

विवाद बढ्दै गएपछि नियन्त्रणमा लिन र त्यहाँको अवस्था सामान्य बनाउन जिल्ला प्रशासन कार्यालय धनुषले शनिबार दिउँसोदेखि उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले विज्ञप्ती जारी गर्दै केही उच्छृङ्खल व्यक्ति तथा समूहहरूले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२० देवपुरा रुपैठामा सम्प्रादायिक सद्भावमा खलल पुग्ने गरी नारा जुलुससहित हुलहुज्जत गरिरहेको बुझिएकोले तत्कालको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै चारकिल्ला भित्र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ (क) बमोजिम कुनै प्रकारको भेला जुलुस, प्रदर्शन, घेराउ, र्याली, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी शनिबार दिउँसो २ः०० बजे देखि आइतबार राती १०ः०० बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरिएको जनाएका छन् ।

पूर्वमा जलाद नदीको कल्री बाँध, पश्चिममा जनकपुर जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौक देखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.