लखन चौधरी/धनगढी १८ भदौ । राज्यले आफूहरुलाई दोस्रो दर्जाको नागरिक सरह व्यवहार गर्दै आएको भन्दै कैलालीका थारुहरुले स्थानीय प्रशासनमार्फत् राज्यलाई नेपाली नागरिकताको प्रमाणपत्र बुझाउने भएका छन् ।

साउन २२ गतेदेखि जारी थरुहट–थारुवान आन्दोलनलाई सम्बोधन गर्नुको साटो दमन गर्दै आएको आरोप लगाउँदै उनीहरुले दबाबस्वरुप नागरिकताको प्रमाण पत्र बुझाउन लागेका हुन् । पहिलो चरणमा क्षेत्रगतरुपमा बुझाउने कार्यक्रम तय गरेका उनीहरु पछि जिल्लाव्यापी रुपमै बुझाउने बताएका छन् ।

थरुहट–थारुवान संयुक्त संघर्ष समिति क्षेत्र ४ कैलालीको आयोजनामा जिल्लाको मसुरियामा भदौ २१ गते हुने विरोध सभाबारे जानकारी गराउन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो कार्यक्रमबारे जनाइएको हो ।

थारुवाट डटकमका अनुसार एनेकपा माओवादी कैलाली सचिव तथा पूर्वसभासद कृष्णकुमार चौधरी ‘कुन्दन’ थरुहट–थारुवान आन्दोलनको हालसम्म कुनै सुनुवाई नभएको भन्दै राज्यलाई दबाब दिने उद्देश्यले नागरिकताको प्रमाणपत्र बुझाउने र विरोधसभा आयोजना गर्न लागेको जानकारी दिए । उनले भदौ २० गते कैलाली क्षेत्र ४ बाट ५ हजार नागरिकताको प्रमाण पत्र बुझाउने बताए ।

सदियौंदेखि थारूहरुलाई गैरनेपालीको रुपमा राज्यले व्यवहार गरिरहेको आरोप लगाउदै पूर्वसभासद चौधरीले पहिलो चरणमा क्षेत्रगत रुपमा बुझाउने र माग सुनुवाई नभए जिल्लाव्यापी रुपमा नागरिकता बुझाउने कार्यक्रम रहेको बताए ।

भदौ २१ आयोजित क्षेत्र स्तरीय विरोध सभामा करिब १० हजार जनता उतार्ने आयोजकको दाबी छ । संघर्ष समितिले कैलाली–कञ्चनपुरसहित थारू बाहुल्य जिल्लाको एक प्रदेश हुनुपर्ने भन्दै आन्दोलनको कार्यक्रम गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.