हुलाकी न्यूज, रुपन्देही । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार रुपन्देहीको ९१ वडामा मशाल जुलुस प्रदर्शन गरेको छ ।
जनमतका नेता कार्यकर्ताहरूले पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत रुपन्देहीका ९१ वडा र टोलमा मशाल जुलुस प्रदर्शन गरेको पार्टीका रुपन्देही अध्यक्ष रामविष्णु सिंह लोधले जानकारी दिए ।
उनका अनुसार जनकारबाहीका क्रममा पक्राउ परेका आफ्ना नेता – कार्यकर्ताहरुको निःशर्त रिहाइ गर्न र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै जनमतले पूर्वनिर्धारित कार्यक्रमअनुसार हिजो तेस्रो दिन वडा र टोलमा मशाल जुलुस प्रदर्शन गरेको छ ।
उनिहरुले ‘भ्रष्ट सरकार मुर्दाबाद,हाम्रो माग पूरा गर,हाम्रो कार्यकर्तालाई रिहा गर,जनमत पार्टी जिन्दावाद ,डा सीके राउत जिन्दावाद ,भ्रष्टाचारीलाई कारबाही गर, किसानलाई क्षतिपूर्ती दे, छोटे राजा मुर्दावाद,किसान एकता जिन्दावाद’ जस्ता नाराहरु लगाएका थिए।
गत बिहीबार आम जनता र जनमत पार्टीका कार्यकर्ताहरूले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका निमित प्रमुख राजेश कुशवाहालाई अर्धनग्न पारेर, हिलो छ्यापेर नगर परिक्रमा गरि जनकारवाही गरेको भन्दै प्रहरीले १७ जनाविरुद्ध मुद्दा चलाएका छन् । 




