हुलाकी न्यूज, विहार, बैरगनीया १९ मंसिर । मधेशमा जारी आन्दोलनको समर्थनमा विहारको सबभन्दा ठूलो दल राष्ट्रिय जनता दलले सिमा क्षेत्रमा मानव साङलो बनाउने भएको छ ।
पार्टीका केन्द्रीय उपाध्यक्ष एवं पूर्वकेन्द्रिय मन्त्री डा.रघुवंश प्रसाद सिंहले मधेशमा लामो समयदेखि जारीरहेको आन्दोलनको समर्थनमा भारतको सिमा क्षेत्रमा विशाल मानव साङलो निर्माण गरी प्रदर्शन गर्ने जनाएका छन् ।
मधेश आन्दोलनलाई नैतिक समर्थन गरेका नेता सिंहले मधेश भारतको सम्वन्ध रोटीबेटीको रहेकोले मधेशीको माग पुरा नभएसम्म पूर्णरुपमा सहयोग गर्ने प्रतिवधता व्यक्त गरेका छन् ।
भारतको बैरगनियामा भारत–नेपाल मैत्री संघद्वारा आयोजित मधेश आन्दोलनमा हाम्रो भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै नेता सिंहले नेपाल सरकारले मानव अधिकारको घोर उल्घन गरेको आरोपसमेत लगाए ।
उनले आन्दोलन प्रभावकारी बनाउन भारतको उतराखण्डदेखि पश्चिम बंगालसम्म १८ सय किलोमिटरको लामो यात्रामा जन जागरण अभियान शुरु गरेको र ५ वटै राज्यका मुख्य मन्त्रीहरुलाई आन्दोलनको सहयोग गर्नका लागि आग्रह गरेको बताए ।
कार्यक्रममा सीतामढीका विधायक सुनिल कुशवाहा र पूर्वविधायिका नगिना देवीले मधेशमा नेपाल सरकारले व्यापकरुपमा दमन गरेको आरोप लगाए । यता मधेशी मोर्चाको नेताहरुको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।




