जनकपुरधाम,असोज २९ । जनकपुरधाममा अवस्थित
गंगासागर र धनुषसागर पोखरीलाई जोड्ने पुलमाथि
५२ फिटको रावणको पुत्ला जलाइयो।

जनकपुरधामको निकै पुरानो र प्रसिद्ध महावीर युवा कमिटीले विगत ८ बर्षदेखि विजयादशमीका दिन रावण दहन गर्दै आएका छन् । र यस वर्ष राम मन्दिरका मुख्य पुजारी राम गिरीले रावणबद्ध गरेका छन् । प्रतिकात्मक रुपमा बनाइएको ५२ फिटको रावण, मेघनाथ र कुम्भकर्णको पुत्ला जलाएका छन् ।

१४ वर्षे वनवासपछि रावणसँग युद्धमा भगवान् रामले विजय प्राप्त गर्दै आफ्नी पत्नी सितालाई रावणको कब्जाबाट मुक्त गर्न सफल भएका थिए । सोही खुशियालीमा हरेक वर्ष जनकपुरधाममा विजयादशमीको दिन विशेष हर्षोल्लासका साथ रावणबद्ध गरिँदै आएको छ ।
रावण दहन कार्यक्रम हेर्न जनकपुरधाम र वरिपरिका गाउँघरबाट हजारौंको संख्यामा सर्वसाधारको भीड लागेको थियो ।




