जनकपुर, असोज २१ । विशेष सरसफाइ कार्यक्रमको नाउँमा लाखौँ रुपैयाँ खर्च गरेको छ। प्राचीन मिथिला र वर्तमान प्रदेश २ को अस्थायी राजधानीको रुपमा रहेको जनकपुरधाममा विभिन्न सांस्कृतिक कार्यक्रम तथा चाडपर्व भई नै रहन्छ। यस्ता अवसरमा विशेष सरसफाइ गर्नको लागि उपमहानगरपालिकाले विभिन्न व्यक्ति तथा संघसंस्थालाई २० लाख रुपैयाँ भुक्तानी दिएको पाइएको छ।

महालेखापरीक्षकको ५८ औँ प्रतिवेदनले आर्थिक वर्ष २०७६/७७ मा उपमहानगरपालिकाले दसैँ, तिहार र विवाहपञ्चमीमा विशेष सरसफाइ गरेको र त्यसवापत २० लाख रुपैयाँ खर्च गरेको औंल्याएको छ। यद्यपि खर्च गरिएको रकमको यकिनबेगर भुक्तानी गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ भने स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ मा पालिकाले तोकिएको कार्यक्षेत्रमा आर्थिक सहायता तथा कार्यक्रमगत सहयोग दिने उल्लेख नभए पनि उपमहानगरपालिकाले आन्तरिक चालू तथा नेपाल सरकारको चालू खर्च शीर्षकबाट बिरामीको प्रमाण राखी विभिन्न व्यक्तिलाई औषधोपचार सहायता, पर्व पूजा, जात्रा, छठ, तीज कार्यक्रम, विद्यालय बालविकास, खेलकुद कार्यक्रम र अन्य विभिन्न संघसंस्थाहरुलाई सामग्री, खाजा, खानालगायतको सामग्री खरिद गरेको बिल र मागको आधार सुनिश्चितता नहुने गरी सहायता खर्च गरेको प्रतिवेदनमा उल्लेख गरेको छ।

महालेखापरीक्षकको प्रतिवेदनले रकम वास्तविक कार्यक्रममा खर्च नभई व्यक्ति विशेषलाई फाइदा पुग्ने र भुक्तानी रकम वास्तविक खर्च हो भनी यकिन गर्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै यस्ता खर्चलाई नियन्त्रण गर्नुपर्ने भनेको छ।

आर्थिक वर्ष २०७६/७७ मा उपमहानगरपालिकाले विशेष सरसफाइ कार्यक्रमबाहेक धर्म संस्कृति पावन त्योहार र ग्रन्थ प्रवर्द्धन कार्यक्रमको नाउँमा २ लाख १६ हजार ६६०, सामाजिक संस्था वा व्यक्तिलाई नगद अनुदानवापत १० लाख ३४ हजार ६१८, संस्कृति कार्यक्रममा ७० हजार रकम खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.