जनकपुरधाम,२० असाेज । कोरोना महामारीमा बन्द गरिएका नेपाल–भारत सीमा नाका दशैँ नजिकिएसँगै खुला गरिएका छन् । भारततर्फका १५ भन्दा बढी नाका खुला भएसँगै दैनिक उपभोग्य वस्तुको किनमेल र दशैँमा घर फर्कनेहरूको ताँती सीमा क्षेत्रमा लागेको छ ।
प्रदेश २ का आठवटा जिल्लाका सीमा नाका खुला गरिएका छन् । सो क्षेत्रमा स्वास्थ्य संवेदनशीलतालाई ख्यालमा राख्दै मुख्य दुई नाका बीरगन्ज र भिठामोडमा स्वास्थ्य जाँच केन्द्र स्थापना गरिएको छ ।
प्रदेश २ का स्वास्थ्य निर्देशक विजयकुमार झाका अनुसार, भारतीय नम्बरका निजी सवारी प्रवेशका लागि सरकारले स्वास्थ्य मापदण्ड निर्धारण गरेको छ । स्वास्थ्य मापदण्ड जाँचका लागि प्रदेश २ मा बीरगन्ज र भिठामोडमा मात्र स्वास्थ्य जाँच केन्द्र राखिएका कारण समस्या आउन सक्ने उनको धारणा छ ।
पूर्व सप्तरीदेखि पश्चिम पर्सासम्म कम्तीमा आठवटा स्वास्थ्य जाँच केन्द्र स्थायी रूपमा सञ्चालन गर्नुपर्ने निर्देशक झाले बताए । प्रदेश २ का सीमा क्षेत्रमा कोभिडको प्रथम चरणका बेला ३० स्थानमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको थियो ।
उनले सीमा नाकासँग जोडिएको स्थानीय तहको समन्वयमा सङ्घीय सरकारले तत्कालै हेल्थ डेस्क स्थापना गर्ने तयारी गरिरहेको बताए ।



