हुलाकी न्यूज, जनकपुरधाम, १९ मंसिर । धनुषाको मिथिला नगरपालिका वडा नं.७ कुसुमविसौनामा श्रीमद् भागवत तारतम सागर पाठ परायन सुरु भएको छ । महन्थ पटना गादी पतिको श्री राज किशोर दास महराजको धाम गवनको पुण्य तिथिको अवसरमा कुसुमविसौनामा शुक्रबारदेखि सात दिने श्रीमद् भागवत सुरु भएको हो ।
श्री कृष्ण प्रणमी सुन्दर साथ जी कुसुमविसौनाको आयोजनामा सात दिनसम्म चल्ने उक्त श्रीमद् भागवतको पहिलो दिन कलश यात्रा गरिएको सन्त चन्देश्वर महतोले जानकारी दिए । कुसुमबिसौनाबाट निस्केको कलश यात्रा धनुषा र महोत्तरीको सीमामा पर्ने रातु नदीमा कलश भरी पुनः कुसुमविसौना फर्केको थियो । कलश यात्रामा एक सय एक जना श्रद्धालुहरु सहभागी भएका थिए ।
श्रीमद् भागवत त्रिवेणी धाम नवलपरासी नेपालका श्री संजय प्रणमीले वाचन गर्ने स्थानीय श्रद्धालु जंगली महतोले जानकारी दिए । विहान ६ बजे मंगल आरती, ११ बजेदेखि दिउँसो ४ बजेसम्म भागवत कथा, साँझ ६ बजे सन्ध्या गौरी आरती र २४ गते भण्डाराको आयोजना गरिएको महतोले जानकारी दिए । उक्त श्रीमद् भागवतमा धनुषा, महोत्तरी, सर्लाही, सिरहासहितका प्रणामीहरुको सहभागिता रहेको छ ।




