हुलाकी न्यूज, काठमाडौं, १९ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेताहरु भारत भ्रमणमा जाने भएका छन् । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादव आइतबार दिल्ली जाने भएका हुन् ।
स्रोतका अनुसार सदभावना अध्यक्ष महतो र तमसपा अध्यक्ष यादव सर्लाही घटनाका घाइतेहरुसँग भारतको सीतामढीमा भेटघाट गरी उतैबाट दिल्ली जाने छन् भने तमलोपा अध्यक्ष ठाकुर र फोरम नेपाल अध्यक्ष यादव एयर इन्डिआको फ्लाइटले काठमाडौंबाट जाने तय भएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले मोर्चाका नेताहरुलाई छलफलका लागि निम्तो दिएको स्रोतले जनाएको छ । मोर्चाका चारै नेताहरु भारतीय विदेशमन्त्री सुस्मा स्वराजलाई पनि भेट्ने कार्यक्रम रहको छ ।
मुख्य दलका नेताहरु बारम्बार भारत गई मोर्चासँग वार्ता भइरहेको र माग सम्बोधन गर्न सरकार तयार रहेको भ्रामक कुरा गरिरहेकाले सरकारले बार्ताको नाममा गरिरहेको नौटंकी तथा शान्तिपूर्ण आन्दोलनमा राज्य पक्षले गरिरहेको ज्यादती र दमनको बारेमा छलफल केन्द्रित हुने मोर्चा स्रोतले जनाएको छ ।
केपी ओली नेतृत्वको सरकारका उपप्रधानमन्त्री कमल थापा दुइ चोटी भारत भ्रमणमा गइसकेका छन् ।



