जनकपुरधाम,असोज १८ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश २ सरकारले भ्रष्टाचार गरिरहेको भन्दै प्रदर्शन गरेको छ । प्रदेशमा व्याप्क अनियमितता गरेको भन्दै जनमत पार्टीका नेता÷कार्यकर्ताले सोमबार जनकपुरधाममा प्रदर्शन गरेका छन् । नगरको बिभिन्न ठाउँमा मोटरसाइकल जुलुस प्रदर्शन गरेका उनीहरुले मुख्यमन्त्री कार्यालयको गेट अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा उनीहरुले भ्रष्टाचारी पार्टी मधेश छोड्, भ्रष्टाचारी होशियार, भ्रष्टाचारीलाई कारबाही गर, भ्रष्ट सरकार राजीनामा दे, मधेशी जनता के भन्छ ? भ्रष्टचारीलाई जेल दे भन्छ, भ्रष्टाचारी मुख्यमन्त्री राजिनामा दे’ जस्ता नारा लगाएका छन् । प्रदर्शनकारी भित्रै जान खोजेपनि प्रहरीले जान नदिँदा उनीहरु कार्यालयको गेट अगाडि करिब आधा घण्टासम्म नाराबाजी गरेका थिए । प्रदेश सरकारले गरेको अनियमितताकै कारण अख्तियारले छापामारी गरेको भन्दै जनमतका नेताहरुले भ्रष्टाचारीलाई कार्वाही गर्नुपर्नेमा जोड् दिएका छन् । उपमहानगरपालिका र खानेपानी कार्यालयमा तालाबन्दी जनमतका कार्यकर्ताहरुले जनकपुरधाम उप महानगरपालिका र खानेपानी कार्यालयमा तालाबन्दी पनि गरेका छन् । बाटो बनाउने नाममा खाल्डो खनेर छोडिदिएका कारण नगरको बिभिन्न ठाउँमा पैदल हिंडन समस्या भएपनि उपमहानगरपालिकाले ध्यान नदिएको उनीहरुको भनाई छ ।
जनमत कार्यकर्ताहरुले उपमहानगरपालिकाका मेयर लालकिशोर साह र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन् । ताला लगाउने क्रममा उनीहरुले न्यायीक समितिको कार्यकक्षमा तोड्फोड पनि गरेका छन् । यस्तै, जथाावी रोड खनेर त्यसै राखिदिएको भन्दै रमानन्द चोकस्थित नेपाल खानेपानी संस्थानको कार्यालयमा पनि उनीहरुले ताला लगाएका छन् ।





