जनकपुरधाम,असोज १८ ।जनकपुर बम काण्डको मुद्दामा मुख्य योजनाकार संजय साह (टकला)को जन्मकैदको फैसला जनकपुर उच्च अदालतले उल्टाएको छ । जिल्ला अदालत धनुषाले साहलाई सुनाएको ज्यान मार्ने उद्योगमा १२ वर्ष कैद सजाय गरेको फैसला उल्टाउदै उच्च अदालतले ७ वर्षमा सिमीत गर्ने फैसला गरेको हो ।

जिल्ला अदालतको फैसलाविरुद्ध अभियुक्त साहले उच्च अदालत जनकपुरमा गरेको रिटमाथि सुनुवाई सुरु गर्दै आइतबार साँझ न्यायाधीशद्वय धीर बहादुर चन्द र मेश ढकालको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो।

उच्च अदालतका राजिष्टार खडकराज अधिकारीका अनुसार सहमाथि ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान मुद्दा चलेको छ। जसमा ज्यान मार्ने उद्योगमा जिल्ला अदालतले गरेको १२ वर्ष कैदको फैसलालाई ७ वर्ष मात्रै सजाय हुने फैसला अदालतले सुनाएको हो ।

साहमाथि रहेको अर्को मुद्दा कर्तव्य ज्यानमा षडयन्त्र गरेर घटना गराएको अभियोगमा कसुरदार ठहर गरिएको छ। सो मुद्दामा साहलाई जिल्ला अदालतले जन्मकैद सनाय सुनाएको छ । उच्च अदालतले सो मुद्दामा दोषी ठहर गरेपनि सजाय निर्धारण गरेएको छैन। यो मुद्दामा अगामी कातिक १५ गते बहस हुने रजिष्टार अधिकारीले बताए।

२०६९ साल वैशाख १८ गते मिथिला राज्यको मागगर्दै जनकपुरधामको रामानन्द चोकमा धर्ना बसेका नागरिकलाई लक्षित गरी शक्तिशाली बम विष्फोट गराइएको थियो। घटनामा ५ जनाको ज्यान गएको थियो भने ३३ जना घाइते भएका थिए।

सो घटनाको मुख्य योजनाकार भएको अभियोगमा साहलाई ज्यान मार्ने उद्योगमा १२ वर्ष र कर्तव्य ज्यानमा जन्मकैदको सजाय सुनाएको थियो। उनी हाल काठमाडौंको नक्खु कारागारमा कैद भुक्तान गरिरहेका छन्।साहलाई जनकपुरका सञ्चार उद्यमी अरुण कुमार सिंघानिया हत्यामा पनि धनुषा जिल्ला अदालतले जन्मकैद सजायको फैसला सुनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.