हुलाकी न्यूज, राजविराज, १८ मंसिर । सप्तरी प्रशासनले राजविराज नगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ । गत मङ्सिर ६ गते सप्तरीमा प्रहरीको गोलीबाट तीनजना आन्दोलनकारीको मृत्युपछि सदरमुकाम राजविराजमा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिएका छन् ।
उनका अनुसार जिल्लाको भारदह र रुपनीमा बिहान ९ देखि साँझ ६ बजेसम्मका लागि निषेधित क्षेत्र यथावत नै छ । सदरमुकाम राजविराजमा स्थिति शान्त देखिएकाले यहाँको निषेधाज्ञा तत्कालका लागि हटाइएको उनले बताए ।
पूर्व–पश्चिम राजमार्गको कोसी ब्यारेजदेखि बलान खोला र गाईघाट कदमहा सडकखण्डको ५०० मिटरमा पर्ने उत्तर र दक्षिण क्षेत्रमा राति ८ देखि बिहान ७ बजेसम्म लगाइएको निषेधाज्ञा जारी नै रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।



