हुलाकी न्यूज, मलंगला १८ मंसिर । विहीबार नवलपुरमा भएको झडपको क्रममा मृत्यु भएकी महिलाको लास लिएर जिल्ला प्रशासन कार्यालय मलंगवामा प्रदर्शन जारी रहेको छ ।
मधेशी मोर्चाका कार्यकर्ताहरुले नवलपुरबाट मलंगवा पोष्टमार्टमका लागि लगिएको महिलाको शव राखेर प्रशासन कार्यालय घेराउ गरेका छन् ।
नवलपुरमा विहीबार साँझ आन्दोलनकै क्रममा मृत्यु भएका राधिका साह कथविनियाँलाई शहिद घोषणा गर्नु पर्ने माग मोर्चाले राखेको छ ।
संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष अशोक यादवले हुलाकी न्यूजलाई दिएको जानकारीअनुसार शहिद घोषणाको प्रक्रिया स्थानीय प्रशासनले नगरेसम्म शव जिल्ला प्रशासन अगाडि राखेर प्रदर्शन जारी रहनेछ ।
हरिपुर–८ घर भई नेत्रगंज–६ नवलपुरस्थित माइती घर आएकी राधिका साह कथविनियाको बिहिबार नवलपुरमा गोली चलेपछि भएको भागदौडको क्रममा मृत्यु भएको हो । दर्जनौ रायण्ड गोली फायर भएपछि घर बाहिर निस्केकी महिला भाग्दै गरेको भिड देखेर आग्नमा लडेर तत्कालै मृत्यु भएको प्रहरीको दाबी रहेको छ ।
यता सर्लाहीका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफलेले हुलाकी न्यूजलाई पोष्टमार्टम गरी शहिद घोषणा प्रक्रिया अगाडि बढाइने बताए ।
कभर तस्बिर : रौतहटअनलाईन




