हुलाकी न्यूज, बर्दिया १८ भदौ । शुक्रबार विहान वर्दियाको मैनापोखरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीकै बन्दुक पडकेर हवल्दार देवबहादुर पाण्डेको मृत्यु भएको छ । पाण्डेको घुँडामा गोली लागे पछि उपचारको लागि नेपालगंज ल्याउँदै गर्दा मृत्यु भएको हो ।
थारु संघर्ष समिति बर्दियाका संयोजक गोविन्द थारुले हुलाकी न्यूजलाई दिएको जानकारी अनुसार प्रहरीले फाईर खोले पछि आन्दोलनकारी तितरवितर भएका थिए र आन्दोलनकारीलाई लखेट्ने क्रममा प्रहरीकै बन्दुकबाट चलेको गोलीले हवल्दारको मृत्यु भएको हो ।
थारुले पोष्टमार्टम रिपोर्टबाट सबै कुरा बाहिर आउने भन्दै आन्दोलनकारीलाई बदनाम गर्ने काम भइरहेको बताए ।
उनले अहिले त्यस क्षेत्रको गाउँ–गाउँमा प्रहरीले प्रवेश गरी जथाभावी थारुहरुलाई कुटपिट गरिरहेको र अहिलेसम्म तीन जनालाई नियन्त्रणमा लिएको बताए ।
यता बर्दियाका प्रमुख जिल्ला अधिकारी बिनोद बहादुर कुँवरले अहिले आफूसँग विस्तृत जानकारी नरहेको र अनुसन्धान जारी रहेको बताएका छन् ।
घटना कसरी भयो ?
मैनापोखर घटना बारे थारु संघर्ष समिति बर्दियाका संयोजक गोविन्द थारुले हुलाकी न्यूजलाई दिएको जानकारी जस्ताको त्यस्तै ।
विहान नाईट बसलाई गुलरिया पठाउने विषयमा प्रहरीसँग सहमति भएको थियो । मलाई फोन आए पछि मैले बसलाई जान दिन भनेको थिए । तर प्रहरीले स्कटिङ्ग गरेर लाने भनेपछि आन्दोलनकारीहरुले प्रहरी विना बसहरु जानु पर्ने बताएका थिए । तर प्रहरीले जर्वजस्ती स्कटिङ्ग गरेर जाने भने पछि गाउँ तिर गएर प्रदर्शनकारीले बसहरु रोक्यो ।
बस रोके पछि प्रहरीले आश्रुग्याँस छोड्यो । तर पनि प्रदर्शनकारी पछि हटेनन् । त्यसपछि फाईर खोल्यो । फाईर खोले पछि प्रदर्शनकारीहरु भाग्न थाले । निकै ठूलो संख्यामा रहेको प्रहरीहरुले प्रदर्शनकारीलाई लखेट्न थाले । प्रहरीहरुले गोली चलाउन थाले ।
लखेट्ने क्रममा प्रहरीकै बन्दुक झरेर हवल्दारको खुटामा गोली लागेको भन्ने मैले जानकारी पाएको छु । हाम्रो शान्तिपूर्ण प्रदर्शन थियो । त्यहाँ कसैले बन्दुक वा घरेलु हतियार बोकेको सरकारले प्रमाणित गरेर देखाओस् ।
अहिले मिडियामा प्रदर्शनकारीले हवल्दार मारे भन्ने समाचार गलत हो । हवल्दारको पोष्टमार्टम रिपोर्टबाट आफै थाहा लाग्नेछ कुन गोलीले मरेको हो भनेर ।
अनी अहिले बाँके र अन्य क्षेत्रबाट आएका प्रहरीले गाउँ–गाउँमा प्रवेश गरी कुटपिट गर्दैछ । यहाँ तत्काल मानवअधिकारकर्मीहरु पुगेर थारुहरुलाई बचाउनु पर्ने अवस्था छ ।
मैले पाएको जानकारी अनुसार अहिलेसम्म तीन जनालाई प्रहरीले पक्राउ गरी जिल्लामा ल्याएको छ ।
तस्बिर : इकान्तिपुर
Update
बर्दिया घटनाको सम्बन्धमा प्रेस विज्ञप्ती




