जनकपुरधाम,असोज १३ । राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका हुन् । 
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको विषयमा राष्ट्रिय एकता अभियानको ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्तिमा संघीयतालाई धरापमा पार्ने किसिमले मुख्यमन्त्री राउतले प्रदेशको मन्त्रीहरूलाई पनि भ्रष्टाचार गर्न प्रेरित गरेको र आफू पनि भ्रष्टाचार गर्न लिप्त रहेको आरोप लगाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारी केही कागजातहरू जफत हुनु यसलाई पुष्टि गर्दछ । प्रदेश सरकार भ्रष्ट रहेको कुरा राष्ट्रिय एकता अभियानले महिनौंदेखि उठाउँदै आएको सर्वविदित नै छ । यस्ता किसिमको गतिविधि गरी प्रदेश-२ का जनतालाई बदनाम र जनताको करबाट उठेको पैसाको दुरुपयोग भइरहेको राष्ट्रिय एकता अभियानको ठहर छ,विज्ञप्तिमा भनिएको छ ।
अख्तियारले छानविन पूरा नगरेसम्म मुख्यमन्त्री राउतको राष्ट्रिय एकता अभियानले राजीनामा माग गरेको छ । राउतले राजीनामा दिई अख्तियारको छानबिनमा सहयोग गर्न अभियानले आग्रह गरेको छ ।
मुख्यमन्त्री राउतले राजीनामा नदिई अख्तियारको छानबिनमा अवरोध पुर्याए राष्ट्रिय एकता अभियान चरणबद्ध रूपमा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ।



