जनकपुरधाम,असोज १२ । कैदीका परिवारका सदस्यलाई कारागारका एक सवारी चालकले जिस्क्याएको महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दी आन्दोलित भएका छन्। कैदीका परिवारका सदस्यलाई कारागारका एक सवारी चालकले जिस्क्याएको भन्दै उनीहरु आन्दोलित भएका हुन्।
कारागारमा रहेका कैदीलाई भेटघाट गर्न आउँदा त्यहाँ कार्यरत सवारी चालक धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका–८ बस्ने प्रेमकान्त ठाकुरले महिला सदस्यहरुलाई विगत धेरै दिनदेखि जिस्क्याएको आरोप उनीहरुको रहेको छ।
कैदीबन्दीहरुले सवारी चालक ठाकुरलाई त्यहाँबाट हटाउन माग गर्दै मंगलबार प्रशासनविरुद्ध कारागारभित्रै नाराबाजीसमेत गरेका छन् भने कारागार कार्यालयमा भित्रबाट ताला लगाएर प्रदर्शन गरिएको जनाइएको छ। यता कारागार प्रशासनले भने सवारी चालक ठाकुरलाई कारवाहीका लागि चिठ्ठी काटिसकेको जनाएका छन् ।



