बीपी साह
टीकापुर । ‘त्यो दिन थारुहरुलाई जिउँदै जलाउँनु पर्छ’ भन्दै त्यो भिड टीकापुर अस्पतालमा पस्यो । प्रहरी र स्थानीय भद्रभलादमीहरु मुखदर्शक थिए । भिडले अस्पतालमा रहेका दुई जना थारु विरामीका कुरुवालाई कुटे । झडपमा घाइते थारुहरुलाई खोज्दै थिए । ‘हामीले घाइते थारुहरुलाई स्टोर रुममा लुकाएका थियौं ।’ पछि प्रहरीले पनि घाइतेहरुलाई स्टोर रुमबाटै कुट्दै लगे, घाइतेहरुको रक्तश्राव पनि रोकिएको थिएन । अस्पतालकै साथीहरुले हामीलाई लुक्न भन्यो । म र एक जना थारु अहेव सर ट्वाइलेटमा डेढ घण्टा लुक्यौं । साँझ हामी लुकेरै घर गयौं । त्यो दिनदेखि करिब तीन सातासम्म अस्पताल गएनौं, घरबाट पनि बाहिर निस्के नौं, टिकापुर अस्पतालमा कार्यरत हेल्थ अस्सिटेन्ट मिना चौधरी(नाम परिर्वतित) को कथा हो ।
स्वास्थ्य क्षेत्रलाई निकै संवेदशिल मानिन्छ, जस्तो सुकै युद्धमा पनि स्वास्थ्यकर्मीलाई सहयोग गरिन्छ तर टीकापुर घटनापछि एक समुदायका स्वास्थ्यकर्मी शौचालयमा लुकेर बस्नु प¥यो । जहाँ सुरक्षाकर्मी तथा स्थानीय भद्रभलादमी उपस्थित थिए । अस्पताल परिसरभित्रै एक समुदायका कुरुवालाई निर्मम ढंगले कुटियो । किनकी उसको समुदायका मान्छेमाथि प्रहरी मारेको आरोप थियो र, प्रहरीले पनि आन्दोलनमा घाइतेहरुको मलहम पट्टि नहुँदै कुट्दै लगे ।
त्यती मात्र होइन, रेडक्रसका सहयोगीहरुले ल्याएका घाइतेहरुलाई प्रहरीले नियन्त्रणमा लिए, उसको स्वास्थ्य अधिकार पनि हनन् गरे । अस्पतालभित्रै सुरक्षा निकाय र गैरथारु समुदायले त्यस्तो रुप देखाएपछि टीकापुर घटनाका घाइते भएकाहरु अस्पतालसमेत गएनन् । स्थानीय मानव अधिकारकर्मी फेरुलाल चौधरीले भने,‘थारु समुदायका मानव अधिकारकर्मीमाथि पनि त्यस्तै व्यवहार भयो । हामी पनि बाहिर आउन सक्ने अवस्था थिएन । आन्दोलनका घाइतेहरु पनि घाउ दबाएर बसे । अन्य ठाउँमा लुकेर उपचार गराए ।’
गाउँमा मुर्दा शान्ति
टीकापुर घटनापछि कैलालीको तीन वटा गाविस निकै प्रभावित छन् । मुनुवा, थापापुर र जोशीपुर । जहाँ थारुहरुको बाहुल्य छ । ती गाविसहरु टिकापुरको छेउछाउको हो । ती गाविसहरुमा एक्लै कोही नयाँ मान्छे पुगे भने नयाँ ती मान्छेसँग नयाँ ग्रहबाट आएको जस्तो व्यवहार गरिन्छ । नकोही बोल्न चहाँन्छ नकोही कसैको घर देखाउन चहान्छ । म ति गाविसहरुमा पहिलो दिन एक जना पुरुष थारु मानवअधिकारकर्मीसँगै पुगे । त्यो दिन त्यस गाउँका केही महिला हामीसँग कुरा गर्न मानेन् र गाउँमा प्रभावित पुरुष वा जान्ने सुन्ने खालको केही पुरुष नै थिएन । त्यो दिन हामी रित्तो हात टिकापुर फर्कियौं ।
दोस्रो दिन त्यस क्षेत्रमा निकै चिनजान भएकी एक जना थारु महिला मानव अधिकारकर्मी साथीलाई लिएर गयौं । उनको घर पनि त्यतैतिर भएकोले उनको त्यो गाउँहरुका महिलाहरुसँग राम्रो सम्बन्ध थियो । गाउँमा पुगेपछि ‘मोर नाम बीपी साह हो, मोर घर जनकपुर हो । मै मधेशी हुँ ।’ भनेर परिचय दिन्थे । कतिपयले हास्थी अनी हामीले कुराकानी सुरु गर्थ्यौ । महिलाहरुले गहभरी आँशु लिएर आफ्ना कुरा सुनाउन थाल्थीन् ।
थापापुर गाविस नवलपुरकी करुणा चौधरी (नाम परिर्वतित)सँग कुराकानी ग¥यौं । उनको श्रीमान भारतीय बजारबाट आलु र प्याज ल्याएर गाउँमा बेच्थेँ । गाउँमा आफ्नै घरमा उनको किराना पसल छ । टीकापुर घटनाभन्दा केही दिन पहिले गाउँमा थारु संघर्ष समिति बनेको थियो । स्थानीय युवाहरुले उनको श्रीमानको नाउँ पनि संघर्ष समितिमा राखेका थिए । स्थानीय एफएमबाट नाउँ बजेपछि प्रहरीहरुले उनको घरको निगरानी गर्न थालेका थिए । टीकापुर घटना पछि आन्दोलनमा गएका र नगएका थारुहरु भागाभाग भए तर उनको श्रीमान आन्दोलनमा गएका थिएनन् । त्यसैले उनी आरामले राती घरमा सुतेका थिए ।
नेपाली भाषा बोल्न नजान्ने करुणा भन्छिन्,‘त्यो राती करिब साढे ११ बजे हामी सबै परिवार सुतेका थियौं । अचानक घरको ढोका ढक ढक भयो र दाई सिगरेट दिनुस् भनेर थारु भाषा मै भन्न थाले । हामीले केही बेर ढोका खोले नौं । त्यसपछि गाली गर्दै बन्दुकको कुनाले ढोकामा हान्दै अपशब्द प्रयोग गरेर गाली गर्न थाले, छोरा ढोका खोल होइन भने अहिले ठोक दिन्छु ।’ त्यसपछि ढोको खोलेर श्रीमानलाई कुट्दै लगे । छोराछोरीहरु पनि रुन कराउन थालिन् । म तिनीहरुको पछाडि गर्दै चौराहासम्म गए, तर पनि छोडेनन् । मलाई एक जना पुलिस सरले जोडले धक्ली दिनु भयो ।’
केही दिनपछि श्रीमान्लाई भेट्न धनगढी पुगेकी करुणालाई पहिलो दिन टाँढैबाट हेर्न मात्र दियो । त्यसपछि उनी एक जना वकील कहाँ गएर भोलि पल्ट भेट्न गइन् । त्यो दिन श्रीमान्सँग पाँच मिनेटको लागि भेट्न दिइयो । करुणा भन्छिन्,‘मेरो थरुवालाई निकै कुटेको रहेछ । उनको खुट्टा उठ्दैन थियो । खाना राम्ररी दिएको रहेनछ । मेरो थरुवा केही दिनमै निकै दुब्लो भएछ । पुलिसले कराउन थालेपछि मँ रुँदै घर फर्के ।’ थापापुरमा यस्ता कयौं परिवारलाई भेटे । पीडाहरु असहय छन् । सुरक्षाको कारणले अहिले पनि धेरै कुरा सार्वजनिक गर्ने अवस्था छैन ।
कमैया बस्तीमा सास्ती
त्यसपछि साँझ हामी जोशीपुरमा रहेको मुक्त कमैया बस्तीमा पुग्यौं । बस्तीमा पुगेपछि प्रहरीले एक जनाको कुटेर हत्या गरेको रहस्य खुल्यो । अनी दर्जनौं युवाहरु सम्पर्क विहिन रहेको मुक्त कमैयाहरुले सुनाए । जाने वितिकै हामी भल्मन्सा (मुखिया) भएको ठाउँमा गयौं ।
बस्तीमा रहेका पुरुषहरु त्यहीँ भेटे । साँझको समयमा तिनीहरु गाँजा खाँदै थिए । अन्य युवाहरु पनि त्यहीँ थिए । उनीहरुलाई हामीले सम्झायौं हामी पुलिसको सुराकी होइनौं र मैथली भाषा बालेर प्रमाणित गरे । त्यसपछि उनीहरु कुरा सुनाउन थाले । म त्यहाँ पुग्नुभन्दा दुई साता पहिले प्रहरीले आन्दोलनकारी थारुहरुलाई खोज्दै त्यो बस्तीमा पसेको रहेछ । अनी केही युवा फेला पारेनछ् । त्यहाँ ड्राभई भनेर चिन्हिने बृद्ध रहेछ । जाँड खाने त्यो बृद्धले प्रहरीसँग मुख लगाएछ । त्यसपछि प्रहरीले उनलाई कुटपिट गरेछ । साँझ प्रहरीको कुटाई खाएका सकीराम चौधरी उल्र्फ ड्राभईर विहान मृत भटियो । बस्तीमा मान्छेहरुले गुपचुप दाहसंस्कार गरे । नजिकैको गाउँमा डबल बंम भन्ने पहाडी जमिनदारको घरमा उनकी कान्छी छोरी कमलरी बसेको रहेछ । दाहसंस्कारमा कान्छी छोरी सामेल भएछ । तर, त्यस विषयलाई सबैले ढाकछोप गरेछ । र, प्रहरीको कुटाइबाट मारिएका सकीराम चौधरीको न त पोष्टमार्टम भए न त कुनै मुद्दा नै दर्ता ।
टीकापुरको खड्ग मेमोरियल विद्यालयका एक जना विद्यार्थीको काका टीकापुर घटना पछि मारिएका छन् । विद्यायलको छात्राबासमा बस्ने ति विद्यार्थीलाई विद्यालयकै सेटमा फोन आयो । काका मारियो भनेर । निकै रुन कराउन थाले । घरबाट पुनः फोन आएर कसैलाई नभन्नु र सुरक्षित बस्नु भनेर । ति विद्यार्थीलाई त्यहाँका शिक्षकहरुले सम्झाई बुझाई राखे । र, यो घटना पनि बाहिर आएन । यस्ता दर्जनौं घटनाका पीडितहरुलाई भेटे । उनीहरुको भिडियो लिए । भिडियो रेकर्ड गर्ने क्रममा बेला बेलामा हाम्रो आँखा रसाउँ थेँ । र, आँशु लुकाउँथे ।
टीकापुरमा यस्तो क्रम एक सातासम्म जारी रह्यो । होटल फर्किदै र सादा पोसाकमा रहेका सुरक्षाकर्मी आएर घुलमिल गर्न खोज्थे । टीकापुरमा धेरै घुम्नु हुन्न भनेर हाँस्दै चेतावनी दिए ।
सरकारले कैलालीलाई सेना लगाएर शान्त गरे पछि कैलालीमा मुर्दा शान्ति छाएको छ । टीकापुरमा गैरथारुहरुको मानसिकताले कुनै बेला टीकापुरमा पुनः द्धन्द्ध निम्तिन सक्छ भने गाउँघरमा थारुहरु निकै डर त्रासमा छन् । उनीहरुको डर विस्तारै प्रतिशोधमा बदलिदै गएको देखे । राज्यले उचित कदम समयमै चालेन भने विस्फोट हुन सक्छ ।



