जनकपुरधाम,असोज ११ । महिलाले लिने कठोर ब्रत जितिया आज सोमबारबाट सुरु भएको छ । सन्तान प्राप्ति, दीर्घायु र परिवारको सुख–शान्तिका लागि भन्दै जितिया पर्वमा ३६ घन्टा निराहार ब्रत बस्ने प्रचलन छ ।
आश्विन कृष्ण पक्षको सप्तमी तिथिका दिन यो ब्रत बस्ने गरिन्छ । सप्तमी तिथिदेखि अष्टमी सुरु नभएसम्म निराहार ब्रत गर्ने गरिन्छ । ब्रतालुले कठिन परिस्थितिको सामना गरेर ब्रत बस्ने गरेका छन् । जनकपुरधामको गंगासागर लगायत अन्य पोखरीहरुमा वर्त गर्ने महिलाहरुको भिड उम्रिएको छ ।
३६ घण्टासम्म निराहार बसेर महिलाहरुले जितिया मनाउँछन्, निराहार बस्ने महिलाहरु पानी समेत नखाने गरेको र थुक पनि निल्न नपाइने परम्परा छ । विगतका वर्षहरुमा २४ घण्टा मात्र निराहार बस्नुपर्ने भएपनि यसवर्ष ३६ घण्टा निराहार बस्नुपर्ने ब्रतालु महिलाहरु बताउँछन् । 
अब बुधवार विहान बच्चाहरु ब्युँझेपछि ब्रतालु महिलाले घिरौलाको पातमा चढाएको नैवेद्यस्वरुपको चिउरा, दही फलफूलसहित प्रसादीको रुपमा खान दिन्छन् । विशेष गरी सन्तानको सुख, शान्ति तथा चिरायुको कामना गर्न जितिया पर्व मनाउने गरिन्छ ।



