जनकपुरधाम,असोज ८ । महोत्तरीको एउटा स्थनीय तहले साइकल वितरणको नाउँमा लाखाैंको अनियमितता गरेको पाइएको छ। जिल्लाको मनरा शिसवा नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा १२९ वटा साइकल वितरण गरेवापत १३ लाख ९७ हजार ८ सय ३६ रुपैयाँ खर्च गरेको छ।
नगरपालिकाले दुईपटकमा दुई ठाउँबाट खरिद गरेकोमा दररेट फरक–फरक तिरेको छ। नगरपालिकाले करिब ८ हजारमा पाइने साइकल खरिद गर्न १० हजार र १२ हजार तिरेको छ। नगरपालिकाले वितरण गरेको साइकल क–कसलाई दिइएको हो त्यसको समेत कुनै प्रमाण नरहेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ।
नगरपालिकाले २०७६ साल मंसिर ५ गते विद्यालय छात्रालाई वितरण गर्न एमआरआर ट्रेडर्सबाट ४० वटा साइकल ४ लाख ९८ हजार ५ सय ६६ रुपैयाँमा खरिद गरेको छ। नगरपालिकाले एउटा साइकलवापत १२ हजार ४ सय ६४ खर्चेको छ तर बजारमा भने ८ हजारमा साइकल पाइरहेको छ।
नगरपालिकाले विद्यालय ४० छात्राकलाई साइकल वितरण गरेको भने पनि उक्त साइकल क–कसलाई दिएको हो त्यसको कुनै प्रमाण नरहेको महालेखापरीक्षकको ५८ औँ प्रतिवेदनले औंल्याएको छ।
त्यस्तै २०७६ साल माघ २६ गते ११ कक्षा अध्ययनरत छात्राको लागि न्यू आदर्श इन्टरप्राइजेजबाट ८९ वटा साइकल खरिद गर्न ८ लाख ९९ हजार २ सय ७० रुपैयाँ खर्चेको छ। ११ कक्षाका छात्रालाई वितरण गर्न एउटा साइकललाई १० हजार १०४ रुपैयाँ खर्चे पनि साइकल कसलाई दिएको हो त्यसको कुनै प्रमाण नगरपालिकासँग नरहेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ।
व्यक्तिगत रिचार्जमा लाखौँ खर्च……………….
नगरपालिकाले आव २०७६/७७ मा व्यक्तिगत रिचार्जमा मात्रै १ लाख ४७ हजार ७२० रुपैयाँ खर्चेको छ। नगरपालिकाले राजन ठाकुरको रिचार्जवापत ६८ हजार २००, पदाधिकारी तथा कर्मचारीको रिचार्जवापत ५५ हजार र रिचार्जवापत २४ हजार ५२० रुपैयाँ भुक्तानी गरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको हो।



