हुलाकी न्यूज, काठमाडौं १७ मंसिर । संघीय समावेशी मधेशी गठबन्धनले विरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
पहिलो चरणमा महोत्तरीदेखि मोरङ्गसम्म विरोधसभा गर्ने राष्ट्रिय मधेश समाजवादी पार्टीका प्रवक्त केशब झाले हुलाकी न्यूजलाई बताए ।
झाकाअनुसार १५ गते बसेको गठबन्धनको बैठकबाट केन्द्रीय कार्यालय बीरगञ्जमा राख्ने निर्णय गर्नुका साथै ५ सदस्यीय सचिवालयसमेत गठन गरिएको छ ।
त्यस्तै ४ सदस्यीय कार्यादल गठन गर्नुका साथै मंसिर १९ गते मधेशका सम्पूर्ण जिल्लामा छलफल र विचार मिल्ने संघ–संस्थासँग सहकार्य गर्ने निर्णय भएको झाले बताए ।
गठबन्धनले सार्वजनिक गरेको विरोध सभाहरुमा मंसिर २५ गते धनुषाको सबैला वा महेन्द्रनगर, २६ गते सिरहाको गोलबजार वा शुखिपुर, २७ गते महोत्तरीको रामगोपालपुर, पुष १ गते मोरङ्गको डायनीया, २ गते केसलिया रोड, ३ गते सुनसरीको इनरुवा र ४ गते सप्तरीको रुपनी वा खरचूँईयामा हुने भएको छ ।
गठबन्धनमा राष्ट्रिय मधेश समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, मधेशी जनअधिकार फोरम (गणतान्त्रिक), तराई–मधेश राष्ट्रिय अभियान रहेको छ ।




