हुलाकी न्यूज, जनकपुरधाम १८ भदौ । मधेशी अधिकार संघर्ष समिति (मास)ले दुई सुत्रीय माग राखी गरेको आमरण अनसन शुक्रबार ११ औं दिनमा तोडिएको छ । गृहमन्त्रालयको नीजि सचिवालयबाट वार्ताको आश्वासन गएपछि शुक्रबार विहान अनसन तोडिएको हो ।
मासको तर्फबाट इन्द्रकुमार झा (मधेशानन्द) विगत ११ दिनदेखि आमरण अनसनमा बसेका थिए ।
उनी मधेशी सभासद्हरुको संविधानसभाबाट राजीनामा तथा मधेशी मोर्चासँग भएको सहमति कार्यान्वयनको माग गर्दै आमरण अनसनमा बसेका थिए ।
पत्रकार घनश्याम मिश्रका अनुसार १० दिनसम्म अनसनमा बसेका मधेशानन्दको जायज माँग रहेको भन्दै नेकपा–माओवादीलाई साक्षी राखि तमलोपा र सदभावना पार्टीका नेता तथा सभासदहरुले यी माँगहरु राजनीतिक एजेण्डा भएकाले संविधानसभा त्याग्ने उचित समय आदैँछ र त्याग गर्न तत्परता देखाएकाले अनसन तोडिएको छ ।
उनका अनुसार गृह मन्त्रालयका नीजि सचिव गणेश बहादुर अधिकारीद्वारा हस्ताक्षरित पत्रमा अनसन तोडि तत्काल वार्तामा आउन आग्रह गरिएको पत्र आएपछि तथा मधेश अधिकार संघर्ष समितिको निर्णयलाई मध्य नजर गर्दै मासले गरेको निर्णय अनुसार अनसन तोडिएको हो ।
मधेशानन्दको समर्थन अनसनमा बस्दै आएका नरेन्द्र मिश्रालेसमेत अनसन तोडेका छन् । मधेशानन्दलाई उनका पिता ७२ वर्षिय बासुदेव झा र मिश्राकी श्रीमति बन्दना मिश्राले अनसनकारीहरुलाई जुस खुवाएका थिए ।
अनसन तोड्दै मधेशानन्दले मधेशमा प्रहरी दमन र सेना परिचालन तत्काल फिर्ता गरी वार्ताको वातावरण बनाउन र मधेशको जायज माँग पूरा गर्न सरकारलाई आग्रहसमेत गरे ।
अब भने मासको सडक संघर्षको मोर्चालाई सशक्त बनाई अगाडी बढ्ने संयोजक सरोज मिश्राले जानकारी दिए ।



