हुलाकी न्यूज , काठमाडौं : नेपालका सञ्जीव नेपालीले १४औं फ्लोरिडा ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा पुम्सेतर्फ दुई स्वर्ण पदक जित्न सफल भएका छन् ।
फ्लोरिडाको ओङ तेक्वान्दो एकेडेमीद्वारा आयोजित च्याम्पियनसिपमा सञ्जीवले ३० देखि ४० वर्षमुनि उमेर समूहको स्पोर्ट्स र ट्रेडिसनल पुम्सेमा स्वर्ण जितेका हुन्। सञ्जीवले स्पोर्ट्सतर्फ अमेरिकाका क्लेभ कोलाडोलाई हराउँदै स्वर्ण जितेका थिए।
उनले ६ अंक र क्लेभले ४.९३४ अंक बटुले। प्रेम दर्नालले ट्रेडिसनल पुम्सेमा स्वर्ण जित्दा स्पोर्ट्स पुम्सेमा भने रजत पदकमै चित्त बुझाए। स्पोट्र्स पुम्सेमा स्विट्जरल्यान्डका डे फ्रेइटा फान्कोईले प्रेमलाई पछि पार्दै स्वर्ण जितेका थिए।
फ्रान्कोईले ६.५१ अंक र प्रेमले ५.८१ अंक जोडे। यसै च्याम्पियनसिपमा नेपालकी अर्की खेलाडी सन्दीपा अमगाईंले स्पोटर््स पुम्सेमा कांस्य र ट्रेडिसनलमा रजत पदक जितिन्। स्पोर्ट्स पुम्सेमा स्वर्ण विजेता अमेरिकाकी नाटलिया मुनेटनले ६.९६ अंक र रजत विजेता फ्रान्सकी ज्लाटकोभिच टमराले ६.१५ अंक बटुले। सन्दीपाले ५.४५ अंक मात्र जोडेपछि कांस्य पदकमा खुम्चिन बाध्य भइन्। ट्रेडिसनलतर्फ भने उनी रजत पदक जित्न सफल भइन्।



