रमेश ठाकुर, रौतहट, १७ मंसिर । मधेशी मोर्चाले मधेशका जिल्लाहरुमा बिहानको समयमा विद्यालय संचालन गर्ने निर्णय गरेपनि अहिले मधेशमा बढेको जाडोका कारण विद्यार्थीहरुलाई विद्यालय आवतजावतमा समस्या भएको छ । बढ्दो जोखिम र असुरक्षाकोबिच पनि विद्यार्थीहरु विद्यालय जान बाध्य छन् ।

विगत लामो समयदेखि मधेश बन्दले गर्दा विद्यार्थीलाई परेको मर्कालाई ध्यानमा राखेर मधेशी मोर्चाले बिहानको समयमा विद्यालय खोल्ने निर्णय गरेको थियो । तर, जाडो बढेसँगै विद्यार्थीलाई बिहान विद्यालय पुग्न निकै समस्या हुनथालेको विद्यार्थी र अभिभावक बताउँछन् ।
बिहान ६ बजेदेखि विद्यालय संचालन गर्नका लागि मोर्चाले भनेपनि बिहानको समयमा अत्यधिक कुहिरो लाग्न थालेपछि अँध्यारो हुनेगरेको छ । जसले गर्दा विद्यार्थीलाई चिसो हुनुका साथै सुरक्षाको पनि चिन्ता बढेको छ ।

प्रभात ईङ्लिस बोर्डिङ स्कुल गौर कक्षा १० मा अध्ययनरत विद्यार्थी अभय कुशवाहा बिहान अँध्यारै हुँदा हिँड्न पनि अप्ठ्यारो हुनेगरेको र लड्ने सम्भावना रहेको बताउँछन् । विद्यालय आउँदा बत्ति नहुने र झ्याल खोल्दा बाहिरबाट चिसो हावा आउने गरेको अर्का विद्यार्थी आरुशी जैसवालले भनिन् ।

जाडोमा सबभन्दा बढी साना बालबालिकाहरु समस्यामा परेको अभिभावकहरु बताउँछन् । गौर नगरपालिका वडा नम्बर ५ बस्ने अभिभावक बिनोद श्रीवास्तव भन्छन्, “बिहानको समयमा साना बालबालिकाहरु एक त उठ्न नमान्ने र उठिहाले पनि जाडोमा विद्यालय जान नै मान्दैनन् । ललाईफकाई विद्यालय पुर्याउन जान्छु तर बाटोमा अँध्यारोको कारण राति परेजस्तै हुन्छ, केहि देखिदैन र चिसो हावाले बालबालिकालाई पनि त्यती नै असर गरेको हुन्छ ।”

एकातिर लामो समयदेखिको बन्दले कोर्स नसकिएको कारण विद्यार्थीहरु जस्तोसुकै परिस्थितिमा पनि विद्यालय जान बाध्य छन् भने अर्कातिर बढ्दो असुरक्षा र चिसोका कारण जोखिम पनि उतिकै बढेकाले अभिभावक, शिक्षक, विधार्थी सबैले विद्यालय संचालनको समय परिवर्तन गर्न सरोकारवालाहरुसँग माग गरेका छन् ।

Jadoma bidyarthi2

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.