हुलाकी न्यूज, जनकपुरधाम : माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ सरकारमा सहभागी हुने निश्चित भएको छ । निर्वाचन आयोगले मंगलबारसम्म दिएको दल रोज्ने समयावधिमा एकीकृत समाजवादी प्रदेश २ चौथो ठूलो दल बनेको छ ।

प्रदेश २ सरकारको नेतृत्व गरिरहेका हाल जनता समाजवादी पार्टी नेपालको नेतृत्वमा रहेको सरकारमा अहिले काँग्रेस र माओवादी केन्द्र सहभागी रहेकोमा अबको केहीदिनमै माधवकुमार नेपाल नेतृत्वको एस पनि सहभागी हुने निश्चित भएको हो ।

सनाखतको कार्य सकिएको बताउँदै प्रदेश २ मा पार्टीको ‘पोजिसन’ राम्रो रहेको नेकपा एकीकृत समाजवादीकी प्रदेश सांसद मञ्जु यादवले बताइन् । उनले अब समाजवादी पार्टी प्रदेश २ को सरकारमा चाँडै सहभागी हुने जानकारी समेत दिएकी छन् ।

‘अध्यक्ष माधवकुमार नेपालले प्रदेश २ को सरकारमा सहभागी हुने भनिसक्नु भएको छ, त्यसको आन्तरिक तयारी पनि सुरु भएको छ, तर औपचारिकता दिइएको छैन, उनले भनिन्, ‘केन्द्रीय तहबाट निर्देशन आउने वित्तिकै हामी अघि बढ्छौँ ।’

भदौ २२ गतेसम्म लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा ९एकीकृत समाजवादी० पार्टीको सनाखत हुने कार्यक्रम रहेकाले मन्त्रिमण्डल विस्तार रोकिएको थियो ।

अहिलेसम्म सनाखतकै कारण केन्द्र तथा प्रदेशमा मन्त्रिमण्डल विस्तार गर्न ढिलाइ भइरहेको बताइएको छ । अब सनाखतको काम सकिएकाले केन्द्रदेखि प्रदेशसम्म मन्त्रिमण्डल विस्तार हुने नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीप्रसाद साहले जानकारी दिए ।

उनका अनुसार प्रदेश २ को सरकारमा एस सहभागी हुने निश्चित रहेको छ । ‘प्रदेश २ सरकारमा सहभागी हुने विषयमा जसपाका शीर्ष नेताहरुसँग अनौपचारिक छलफल चलिरहेको छ, केन्द्रको मन्त्रिमण्डल विस्तार हुने वित्तिकै प्रदेशको टुंगो लाग्छ,’ उनले भने ।

सत्तारुढ जसपा फुटेपछि पनि ठूलै दलको हैसियतमा, एमाले पाँचौं स्थानमा झर्‍यो

नेकपा एमाले र जनता समाजवादी पार्टी नेपाल दल विभाजन पश्चात बनेको नँया दलले प्रदेश २ सभाको अंकगणित फेरिएको छ ।

एमालेबाट विभाजन पश्चात बनेको नँया दल एकीकृत समाजवादी र जसपाबाट विभाजनपछि बनेको लोकतान्त्रिक समाजवादी पार्टीले जसपा र एमालेलाई कमजोर दल बनाएको छ ।

सत्तारूढ जसपा फुटेपछि पनि हाल ३८ प्रदेश सांसदसहित जसपा अहिलेपनि ठूलै दलको हैसियतमा रहेको छ । यसअघि सभामुख सरोजकुमार यादवसहित जसपाका ५५ प्रदेश सांसद थिए । विभाजित महन्थ ठाकुर पक्षले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेपछि जसपाका १६ सांसद यता आबद्ध भएका हुन् । योसँगै लोसपा प्रदेश सभामा तेस्रो दल बनेको छ ।

यस्तै दोस्रो स्थानमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने पाँचौ दलमा झरेको छ। यसअघि २१ सांसदसहित दोस्रो ठूलो दल रहेको एमालेका १३ प्रदेश सांसदले विभाजित दल एकीकृत समाजवादी रोजेका हुन् । योसँगै ८ सांसद मात्र बाँकी रहेर एमाले पाँचौं दलको हैसियतमा झरेको हो । त्यस्तै एकीकृत समाजवादी भने १३ सांसदसहित चौथो पार्टी बनेको छ ।

सत्ता घटक माओवादी केन्द्रका पनि प्रदेश नम्बर २ को प्रदेश सभामा ८ सांसद मात्र छन् । यसैकारण एमाले र माओवादी केन्द्रको हैसियत बराबर बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.