हुलाकी न्यूज, जनकपुरधाम : पर्साको जगरनाथपुर गाउँपालिका–३ विजबनियाका ४८ वर्षीया अम्बेया खातुनको माइती भारतको बिहार, नरकटियागञ्ज नौतनवा ग्राम पञ्चायत–४ थाथवा टोल हो । २०७६ सालमा कोरोना महामारी शुरु भएलगत्तै उनकी काकीको मृत्यु भयो ।

काकीको मुख अन्तिम पटक हेर्छु भनेपछि मोटरसाइकलमा राखेर दशौता सीमासम्म पुर्‍याएर फर्काएको उनका श्रीमान् सहरुम राउत गद्दी बताउँछन् । कोरोना नियन्त्रणका लागि सीमामा आवागमन बन्द गरिएको थियो ।

‘मान्छेहरु छेउछाउबाट आउजाउ गर्थे, तर टाढा पुग्नपर्ने भएकाले हामीलाई बाइकमै जानुपर्ने थियो,’ उनी भन्छन्, ‘सुरक्षाकर्मीले जान नदिएपछि सीमाबाटै फर्किएर आयौं ।’

वीरगञ्ज–११ की शिक्षिका अनिता साहको माइती बिहारको मोतिहारीमा पर्छ । कोरोना महामारीका कारण सीमा बन्द भएकाले गत वर्ष रक्षाबन्धनमा उनी माइत जान पाइनन् । चार दाजुभाइका दुई दिदिबहिनीमध्ये बहिनी दिल्लीमा फसेकी थिइन् । दाजुभाइलाई रक्षाबन्धन बाँधिदिने कोही भएन ।

भोजपुरी समुदायमा रक्षाबन्धनलाई महत्वपूर्ण पर्वको रुपमा लिइन्छ । ‘रक्षाबन्धनमा दुई दिन छुट्टी हुन्छ, तर कोरोना महामारीले सबै बर्बाद बनाइदियो,’ अनिता भन्छिन् ।

कोरोना महामारीले गर्दा सीमा क्षेत्रमा नागरिक–नागरिक सम्बन्ध कायम गर्न निकै कठिनाइ भइरहेको पत्रकार चन्द्र किशोर बताउँछन् । आफन्त भेट्ने, किनमेल गर्ने, चाडपर्व मनाउने, बिहेवारी गर्ने, पढ्ने लगायत सामान्य अवस्थाका सबै क्रियाकलाप अहिले अवरुद्व भएको उनले बताए ।

यो गत वर्षको कुरा भयो । यसपालि पनि स्थिति लगभग त्यही रह्यो । सामाजिक–सांस्कृतिक सम्बन्धका कुरा लुकिछिपीमै सीमित भयो ।

नेपाल–भारतबीच सदियौंदेखी विशेष प्रकारको सम्बन्ध रहँदै आएको छ । यसलाई ‘रोटी बेटी’को सम्बन्ध भन्ने गरिएको छ । सीमानामा पासपोर्ट चाहिँदैन । दुवै देशका नागरिक जुनसुकै बेला बेरोकटोक सीमा वारपार गरिरहेका हुन्छन् ।

दिनभर नेपालमा व्यापार–व्यवसाय या मजदूरी गरेर साँझ घर फर्कने भारतीयहरु पनि उत्तिकै छन् । त्यसैगरी गुजारा गरिरहेका नेपाली पनि थुप्रै छन् । छठ, रक्षाबन्धन, जितिया लगायत पर्वमा सीमा वारपार गर्ने नागरिकहरुको विशेष लहर चल्छ ।

नेपाल–भारत आधुनिक सम्बन्ध सन् १८१६ को सुगौली सन्धिपछि स्थापित भएको हो । काठमाडौं–दिल्ली यो राजनीतिक सम्बन्ध अनुसार १७ सय ७० किलोमिटर सीमा क्षेत्रमा दुवैतिर सुरक्षाकर्मीको उपस्थिति छ । यो राजनीतिक सम्बन्धभन्दा निकै अगाडिदेखि निर्वाध रुपमा चलेको जनस्तरको सम्बन्धलाई कोरोना महामारीले प्रभावित पारेको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि २०७६ चैत १० गतेदेखि नेपाल सरकारले आफ्नो अन्तर्राष्ट्रिय सीमा बन्द गर्‍यो, जुन औपचारिक रुपमा अझै खोलेको छैन । नेपाली नागरिकलाई आउजाउ गर्न वीरगञ्ज लगायत सीमित नाका तोकिएको छ । भारतीय सवारीसाधन आवागमनमा लगाइएको रोक कायम छ ।

कोरोना महामारीले गर्दा सीमा क्षेत्रमा नागरिक–नागरिक सम्बन्ध कायम गर्न निकै कठिनाइ भइरहेको पत्रकार चन्द्र किशोर बताउँछन् । आफन्त भेट्ने, किनमेल गर्ने, चाडपर्व मनाउने, बिहेवारी गर्ने, पढ्ने लगायत सामान्य अवस्थाका सबै क्रियाकलाप अहिले अवरुद्व भएको उनले बताए ।

‘सीमा क्षेत्रमा दुवै देशले सुरक्षाकर्मी राखेपछि जनस्तरको यो विशेष सम्बन्ध थोरै खल्बलिएकै थियो,’ उनी भन्छन्, ‘कोरोना महामारीले त्यसलाई झनै बढाएको छ ।’

ठाकुरराम बहुमुखी क्याम्पसमा समाजशास्त्र प्राध्यापन गर्ने वीरेन्द्र साह पनि कोरोनाको निहुँँमा सीमा क्षेत्रका नागरिक–नागरिकबीचको सम्बन्ध औपचारिकतामा सीमित भएको बताउँछन् । कोरोनाकालमा दुवै देशका सरकारले सीमा नाकाहरुको सही व्यवस्थापन नगरेर नागरिक सम्बन्धमा भाँजो हालेको उनको भनाइ छ ।

‘नैतिक मानवशास्त्रका अनुसार उपहार आदानप्रदानबाट व्यक्ति वा समाजबीच आत्मीयता अभिवृद्वि हुन्छ । नेपाल र भारतका सीमा क्षेत्रका नागरिकबीच चाडबाडमा सनेश (कोशेली) आदानप्रदान गर्ने सदियौं पुरानो प्रचलन छ,’ प्रा. साह भन्छन्, ‘तर, कोरोनाकालमा दुवैतिरका सरकारले यस्तो नागरिक सम्बन्धको संवेदनशीलतालाई बेवास्ता गर्ने नीति लियो ।’

उनका अनुसार नेपाल–भारत सीमा क्षेत्र भनेपछि कतिपयले अपराध, मानव तस्करी, लागू औषध, जालीनोट र हुण्डी कारोबारको रुपमा सम्झिने गरेको उनी बताउँछन् । ‘तर, यहाँ त सीतारामको समयदेखिको सम्बन्ध छ,’ उनी भन्छन्, ‘राजनीतिक सीमा रेखा त धेरैपछि कोरिएको हो ।’

भारतीय दैनिक पत्रिका ‘आजतक’ का रक्सौल सम्वाददाता गणेश शंकर पर्व–त्योहार, बिहे–उत्सव र मरणमा दुईतिरका आफन्तजन सहजै आउजाउ गर्न नपाउने स्थितिले सर्वसाधरणलाई निकै कठिनाइ भएको बताउँछन् ।

‘कतिपयले लुक्दैछिप्दै सामाजिक व्यवहार पूरा गरे पनि सवारी आवागमन नै बन्देज गर्दा धेरै सकस अनुभव गरिएको छ,’ उनी भन्छन्, ‘मर्दापर्दा समेत आफन्तजनलाई भेट गर्न नदिएर राज्यस्तरबाटै जनस्तरको सम्बन्धमा दूरी बढाउने काम भइरहेको छ ।’

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे भने सीमा क्षेत्रको सामाजिक–सांस्कृतिक सम्बन्धमा असर नपरोस् भनेर प्रशासनले ध्यान दिएको बताउँछन् ।

‘महामारीमा असुविधा भयो होला, तर निषेध गरेका थिएनौं,’ उनले भने, ‘मृत्यु संस्कार, विवाह जस्ता कार्यमा सहजीकरण गरेकै हौं । संख्या सीमित गराएर विवाह लगायतका कार्यक्रम सम्पन्न गर्न पनि दिएकै हौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.