हुलाकी न्यूज, सिरहा, १६ मंसिर । मधेश आन्दोलनको समर्थन गर्दै सिरहाका विद्यार्थीहरूले बुधवार पूूर्वपश्चिम राजमार्गमा मानव साङ्लो बनाएका छन् । सिरहामा विभिन्न विद्यालयमा अध्ययनरत सम्पूर्ण तहका विद्यार्थीहरूले मधेश आन्दोलनको समर्थन गर्दै सिरहाको बलानदेखि कमला नदीसम्म ४६ किलोमिटर लामो मानव साङ्लो बनाएका हुुन् ।
उनीहरूले हत्या हिंसा बन्द गर, मानवअधिकारको ग्यारेन्टी गर, पढ्न पाउने अधिकार सुनिश्चित गर, मधेशका अधिकार स्थापित गरलगायत नारा लेखिएका व्यानर र प्लेकार्ड प्रदर्शन गरेका थिए । वार्ता र संवादको माध्यमबाट समस्याको निकास खोज्न सरकारलाई दबाबस्वरूप मानव साङ्लो प्रदर्शन गरिएको उनीहरूको भनाइ छ ।
मानव साङ्लोमा लहान, गोलबजार, मिर्चैया, धनगढी, बन्दिपुुरलगायत निजी तथा सरकारी विद्यालयका ५० हजारभन्दा बढी विद्यार्थीको सहभागिता थियो ।



