विश्वभरी छरिएर रहेका थारुहरुको छाता संगठन हो ‘थारु अराउण्ड द वल्र्ड’ जसको नेतृत्व गर्दैछन् महाविर चौधरी । दाङ्गको तुल्सीपुरमा जन्मेका चौधरी हाल अमेरिकामा बस्दै आएका छन् तर मधेश–थरुहटमा आन्दोलन सुरु भएदेखि उनी यसै क्षेत्रमा छन् । मंसिर १८, १९ र २० गते दाङ्ग मै थारु युवाहरुको राष्ट्रिय भेला गराउँदैछन् । जारी आन्दोलन र यसका निकासका विषयमा हुलाकी न्यूजका लागि सम्पादक बीपी साहले ‘थारु अराउण्ड द वल्र्ड’का अध्यक्ष महाबिर चौधरीसँग गरेको कुराकानीको सम्पादित अंश ।
मधेश–थरुहटमा जारी आन्दोलनलाई तपाईहरुले कसरी बुझ्नु भएको छ ?

मधेश–थरुहटमा एक सय १५ दिनदेखि जारी आन्दोलन अधिकारको लडाई हो । जसलाई राज्यले बुझ्न सकेको छैन वा बुझेर पनि पेलेर जाने मानसिकतामा छ । आन्दोलनको माग सबैलाई थाहा छ, मैले एक वाक्यमा भन्नु पर्दा हामी दासत्वबाट मुक्ति चाहन्छौं र आफ्नो अधिकारको सुनिश्चितता चाहन्छौं ।

अनि राज्यलाई कसरी बुझ्नु भएको छ ?

राज्यले मधेश–थरुहटका जनतालाई आफ्नो नागरिक ठान्दैन । राज्यले मधेशी–थारुलाई पराई ठान्छन् र त्यस्तै व्यवहार गर्दैछ । राज्यले पहाडका एक थरी उच्च वर्गका जातीलाई मात्र आफ्नो ठान्छन् र उसकै नियन्त्रणमा छ । भन्ने बेलामा सयौं थुँगा फूलका हामी भन्छन् तर मधेशी–थारुको फूल कहिले पनि फुल्न दिएको छैन ।

अनि आन्दोलनमा राज्यका सुरक्षा निकायहरुको व्यवहार कस्तो हेर्दै हुनुहुन्छ ?

सुरक्षा निकायहरु मधेशी–थारुमाथि क्रुर भएर प्रस्तुत भएका छन् । आफ्नै जनतामाथि यसरी प्रस्तुत हुन्छ भन्ने लागेको थिएन । राज्यले आफ्नै जनतामाथि सेना परिचालन गर्यो । यो कतिको जायज कुरा हो । प्रष्टरुपमा भन्दा थारुलाई दबाउन सेना परिचालन भएको हो ।

वर्षौंदेखि हामी कमैया, कमलरी र भूमिहिन बनिरहँदा राष्ट्रवादी भन्थे तर आज अधिकार माग्दा हामीलाई आतंकबादी भन्दैछन् गोली ठोक्दैछन् ।

अहिले जारी आन्दोलनको उपलब्धी पनि केही हेर्नु हुन्छ ?

केही घटनाहरु दुखद छन् तर समग्रमा धेरै उपलब्धीहरु भएको छ । यस आन्दोलनले हामी सशक्त भएका छौं । हामी एकीकृत भएका छौं । हाम्रा अधिकारका कुरा गाउँ गाउँसम्म पुगेको छ । गाउँ गाउँका जनता हाम्रा अधिकारका विषयमा सचेत भएका छन् । दिन प्रतिदिन हाम्रा अधिकारका कुरा र मागहरु प्रसार हुँदैछ । राज्यले आन्दोलनका मागलाई पुरा नगरेसम्म हाम्रा मागहरु जनताले प्रष्टरुपमा बुझ्नेछ र राज्यप्रति झनै आक्रोसित हुनेछ ।

आन्दोलनमा मधेशी–थारुको सहकार्यलाई कसरी लिनु भएको छ ?

पहिलो र दोस्रो मधेश आन्दोलनमा हामी मधेशी–थारु एकै ठाउँमा थियौं । माओवादी अध्यक्ष प्रचण्डलाई मधेशमा झट्का लागेपछि उनले मधेशी–थारुलाई विभाजनको प्रयास गरे । एमाले, कांग्रेसले पनि मधेशी–थारुबीच विभाजन ल्याए । केही दिन मधेशी–थारुबीच विभाजित जस्तै देखियो तर वास्तवमा त्यस्तै रैनछ । अहिले यो आन्दोलनले हामी मधेशी–थारु झन् घनिष्ठ भएका छौं । राज्यले दिएको घाउले हामीबीचको मनमुटाब सकिएर घनिष्ठतामा परिवर्तन भएको छ । हामी पहिलेभन्दा पनि शक्तिशाली र मजबुत भएका छौं ।

टिकापुर घटनालाई कसरी लिनु हुन्छ ?

टिकापुर घटनामा जे भयो त्योप्रति म निकै दुखित छु । ७ गतेको घटनालाई राजनीतिक रुपले समाधान गर्नुपर्छ । जुन ८ गते घटना भयो, त्यो सुरक्षा निकायकै निगरानीमा भयो । त्यो अक्षम्य छ । कफ्र्यूको समयमा थारुहरुको घर जलाईयो, लुटियो ।
७ गतेको घटनाको आरोपमा थारुहरुलाई पक्राउ गरिएको छ । यातना दिइएको छ तर ८ गतेको घटनाका दोषीहरुका विरुद्ध किटानी जाहेरी पनि लिइएको छैन । थारुहरुले हुलाकमार्फत जाहेरी दिएको हो ।

अब यो आन्दोलनको व्यवस्थापन कसरी हेर्नु भएको छ ?

वर्तमान आन्दोलनलाई सरकार पक्षबाट बढावा दिइएको छ । राज्यले अहिलेसम्म पनि मधेशी थारुको आवाज सुनेको छैन । देश विकराल समस्यामा फँसिरहेको देख्छु ।

मधेश थरुहटको आन्दोलन छापामार युद्धतिर जानसक्ने मैले देख्दैछु । थारुहरु त्यसतर्फ अग्रसर भएका छन् भने पूर्वकाहरु स्वतन्त्र मधेशको कुरा उठाउँदैछ । तर त्यो अवस्था आईसकेको छैन ।

1 COMMENT

  1. Pahadi shashak haru lay tarai dekhi himal samma aafai shashan gern ko lagi madeshi tatha tharu haru ko daman gari rahe ko 6. Ter ab hami lay gulami ko janjir lai toder naya yug ko suruwat gernu perd6.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.