हुलाकी न्यूज, सिरहा, १६ मंसिर । सिरहामा विद्यार्थीहरुले विशाल मानव साङ्लो बनाई प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले सिरहास्थित बलान नदीदेखि कमला नदीसम्म ४० किलोमिटर लामो मानव साङ्लो बनाएका हुन् ।
उनीहरुले जारी मधेश आन्दोलनको समर्थन र सरकारको विरोधमा प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले हत्या हिंसा बन्द गर, मानवअधिकारको ग्यारेण्टी गर, पढ्न पाउने अधिकार सुनिश्चित गर, मधेशको अधिकार स्थापित गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
काठमाडौंमा मंसिर गत शुक्रबार, मंसिर ११ गते बालबालिकाले मानव साङ्लो बनाएपछि त्यसको जवाफमा मधेशभरीका जिल्लाहरुमा मानव साङ्लो बनाएर प्रदर्शन सुरु गरिएको छ ।
राष्ट्रिय मानवअधिकार आयोग, प्राध्यापक संघ, बालअधिकारवादी संस्था र अधिकारकर्मीहरुलगायतले प्रदर्शनका क्रममा बालबालिकाको प्रयोग नगर्न आह्वान गरिरहँदा पनि देशैभर विद्यालय र प्लस टुका बालबालिका सडक प्रदर्शनमा आएका छन् ।




