हुलाकी न्यूज, नेपालगञ्ज, १६ मंसिर । सोमबार राति रुपैडिहा नाकामा शान्तिपूर्ण धर्ना दिएर बसेका मधेशी मोर्चाका कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेको घटनाप्रति तराई मानवअधिकार रक्षक संजाल (थर्ड एलायन्स)ले ध्यानाकर्षण भएको जनाएको छ ।

एलायन्सको नेपालगञ्ज उपक्षेत्रीय कार्यालयका प्रमुख आलम खानले विज्ञप्ति जारी गर्दै सोमबार राति करिब ७ः४५ बजे प्रहरीले मोर्चा कार्यकर्तामाथि एक्कासी लाठी चार्ज गरेको कार्यप्रति एलायन्सको ध्यानाकर्षण भएको जनाएका छन् । सो क्रममा प्रहरीले ४ राउण्ड हवाई फायर पनि गरेको एलायन्सले जनाएको छ ।

प्रहरीले लाठी चार्ज गरेपछि तितरबितर भएका आन्दोलनकारीमाथि प्रहरी र केही भिजिलान्तेहरुले ढुङ्गा हान्दा मधेशी मोर्चाका नेताहरु राम कुमार दिक्षित, राकेश मिश्रा, राजेन्द्र बर्मा, कामता प्रसाद सोनखर, गिरिजा पाठक, अभिशेष मिश्रा, जिबराईल कबाडिया, बसन्त बर्मा, राज किशार बर्मा, मिना बुढा क्षेत्री र राम सिहं सोनी घाईते भएको एलायन्सद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

घाईतेहरुको उपचार भारतको रुपैडिहामा भईरहेको खानले जनाएका छन् । त्यसैगरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले दशगजामा प्रवेश गरी मधेशी मोर्चाले लगाएको टेण्टमा समेत तोडफोड गरेको पाइयो ।

एलायन्सले प्रहरी र पहाडी समुदायका जस्ता देखिने केही भिजिलान्तेहरुको यस्तो क्रियाकलापले सामाजिक सद्भाव बिगार्ने भएकोले सरकारलाई गम्भीर हुन सचेत गराएको छ ।

एलायन्सले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ । राज्यपक्षबाट मानवअधिकारको उंल्लघन नरोकिएको स्मरण गराउँदै एलायन्सले त्यस्ता कार्य नगर्न समेत आग्रह गरेको छ ।

press release of THRD Alliance

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.