हुलाकी न्यूज, काठमाडौं १५ मंसिर । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँगको वार्ता असफल भइरहँदा हालै निर्माण भएको संघीय समावेशी मधेशी गठबन्धनले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र नेपाली काँग्रेसका अध्यक्ष सशुील कोइरालालाई भेटी ध्यानाकर्षण गराएको छ ।
सोमबार मोर्चासँगको वार्ता असफल भएपछि साँझ गठबन्धनले केपी ओलीसँग समय लिएर भेटघाट गरेको छ । त्यस्तै मंगलबार विहान कोइरालासँग भेटघाट गरेको हो ।
सोमबार साँझ ओलीलाई भेटेर ध्यानाकर्षण गराएको गठबन्धनका एक घटक एवं नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल कुमार झाले हुलाकी न्यूजलाई बताए ।
झाका अनुसार ओलीसँगको भेटमा मधेशमा जारी आन्दोलनका विषयमा अवगत गराउनका साथै मागहरुका बारे स्पष्ट परिएको थियो ।
झाले भने,‘ओलीसँगको भेटमा उनी आफ्नो अडानबाट पछि हटेको जस्तो लागेन । उनको भावना अहिले पनि पहिलेको जस्तैछ । उनलाई मधेशमा जारी आन्दोलनले खासै असर परेको जस्तो लागेन ।’
त्यस्तै मंगलबार विहान नेपाली काँग्रेसका अध्यक्ष सुशील कोइरालासँग भेटघाट भएको झाले बताए ।
झाका अनुसार कोइरालाले वार्तालाई निष्कर्षमा पु¥याउने र मधेशीलाई सहयोग गर्ने आवश्वन दिए ।
भेटघाटमा गठबन्धनमा रहेका चारैवटा घटकका अध्यक्षहरु राष्ट्रय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारी, मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादव, तराई–मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ता र नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झा रहेका छन् ।



