राम नारायण पंडित, सिरहा, १५ मंसिर । सिरहामा पनि विद्यार्थी र शिक्षकहरुले मानव साङलो बनाई प्रदर्शन गर्नेभएका छन् । तराई मधेशका जिल्लाहरुमा विद्यार्थीहरुले मानव साङलो बनाई प्रदर्शन भईरहेको समयमा सिरहामा बुधबार यस्तै प्रदर्शन हुनेभएको छ ।
एनप्याबसन, प्याबसन र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले सिरहामा बुधबार मानव साङलो प्रदर्शन गर्ने निर्णय लिएको हो । बैठकले जारी गरेको विज्ञप्तिमा यही मंसिर १६ गते बुधबार बिहान ८ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको पूर्वी सीमाना बलानदेखि पश्चिम सीमाना कमलासम्म मानव साङलो प्रदर्शन गर्ने उल्लेख गरिएको छ । उक्त मानव साङलोमा जिल्लाका सम्पुर्ण निजी तथा सरकारी विद्यालयका विद्यार्थी, शिक्षक र आम जनसमुदायलाई सम्मिलित हुनका लागि विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
एनप्याबसन सिरहा, प्याबसन सिरहा र मधेशी मोर्चाद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा मधेश आन्दोलनमा सहादत्त प्राप्त गरेका सहिदहरुका लागि प्रार्थना सभा र श्रद्धाञ्जली सभा गर्ने उल्लेख रहेको छ ।
कभर तस्विर : फाईल फोटो




