आदरणीय गैरआवासीय नेपाली संघका मान्यवर ज्युहरु,

नमस्कार ।

आज म तपाईहरुलाई खुलापत्र लेख्न बाध्य भएको छु । मेलमार्फत देशमा अहिलेको समस्या भनेको राजनीति समस्या हो, भनेर अवगत गराए कै थिए । तर, कसैले नसुन्दा अन्त्यमा कुनै उपाय नलागेकोले खुलापत्र मार्फत तपाईहरुलाई फेरी अवगत र सचेत गराउन प्रयास गर्दैछु । आशा छ, यसलाई अन्यथा लिनु हुन्न होला ।

गैरआवासीय नेपाली संघ सामाजिक र सम्पूर्ण नेपालीको संस्था हो । यसको उद्देश्य सम्पूर्ण नेपाली जनतामा एकता कायम गर्नु, देशलाई विकासको पथमा लग्नु , शान्त र समृद्धि बनाउने भूमिका खेल्नु र साथसाथै कुटनीतिक सम्बन्ध संसार भरिका देशहरुसँग न्यानो र सुमधुर बनाउन पहल गर्नु पर्ने हो । पहिला सराहनीय महत्वपूर्ण कामहरु गरेको पनि हो । तर, केही महिनादेखि गैरआवासीय नेपाली संघ राजनीति र केही समूहको लागि काम गर्न लागेको छ ।

नेपालमा अहिलेको परिस्थितिमा न आन्दोलनमा सहमति जनाउन सकिन्छ न सरकारको कार्य र व्यवहार माथि नै । तर, आन्दोलनमा मारिएका जनता र प्रहरी दुईटै को लागि सहानुभूति र श्रद्धान्जली गर्नु जरुरी छ । साथै देश र जनताको लागि निकास खोज्नु पनि जरुरी छ । देशमा आधाभन्दा बढी जनता आन्दोलित छन । तर, यहाँ सरकारलाइ हेर्दा निकास नखोजेर विकल्प खोज्दैछ र त्यसलाई सम्पूर्ण नेपालीको संस्था भनेर चिनिने हाम्रो एनआरएनएले मलजल गर्न लागेको हेरेर अचमित भएछु । यसले गर्दा एनआरएनए सम्पुर्ण नेपालीको संस्था नभएर सरकार र केही खास समूहको संस्था हुनलागेको बोध हुन्छ ।

नेपाल सरकारले नै कहि पनि घोसित वा अघोसित नाकाबन्दीको कुरा कुटनीतिक स्तरमा उठाएको छैन । यस्तोमा गैरआवासीय नेपाली संघले देशका आधि भन्दा बढी जनतालाई वास्ता नगरिकन देश विदेशको कुटनीतिक संघसंस्था र कार्यालयहरुमा जुलुस नारा गर्नु कतिको उचित हो भन्ने मेरो प्रश्न छ ?

यस्तो कार्य गरेर विश्व सामु नेपाली जनतालाई दुई भागमा बाँड्ने प्रयास नगरौं, विश्व सामु कुटनीतिक मर्यादा तोडेर कुटनीतिक सम्बन्ध खराब नगरौं । गैरआवासीय नेपाली संघले देश र विदेशमा कमाएको इज्जत र नाम यसरी खराब गर्ने प्रयास नगरौं ।

विदेशमा बस्न त्यहिँका कागजातहरु लिसकेका गैरआवासीय साथिहरुले विदेशबाट नै स्वाबलम्वी र राष्ट्रियताको गीत नगाएर नेपालका बिकट जिल्लाहरु कर्णाली, आफ्नो अधिकारको लागि लडिरहेका तराईका जिल्लाहरुमा गएर हेर्नुस त्यहाँका जनताहरु के चाहन्छ र उनीहरुको जिबीका जीवनयापन गर्नका लागि अधारभुत कुराहरु के माथि निर्भर छ ?

उनीहरुलाई आत्मनिर्भर बनाउन र सरल जीवनयापनको उपाय दिन अहिलेसम्म कसैले ठोस कदम उठाएको छैन । यसको दायित्व सरकार र संघसंस्थाहरुको पनि हो । केहि भ्रष्ट र देशप्रति गैरजिम्मेवार नेताहरु र समूहको पछि लागेर यस्तो गल्ती नगरौं कि भविष्यमा गएर त्यसको ठूलो मूल्य देश र नेपालमा बस्ने जनतालाई चुकाउनु परोस ।

कुनै किसिमको नाकाबन्दी देशको हितमा हुँदैन र कुनै पनि देश यस्तो गर्छ भने अशोभनीय हो । म त्यस्तो कार्यलाइ निन्दा गर्छु तर त्यो परिस्थिति आयो किन त्यसको बारेमा पनि सोच्नु र सत्य बाटो रोजेर देशलाई निकासको पाईलातर्फ अगाडी बढाउनु बुद्धिमानी हो ।

देश अहिले जटिल परिस्थितिमा छ । यस्तो परिस्थितिमा गैरआवासीय नेपाली संघलाई जिम्मेवार भएर देशको लागि अभिभावकको भूमिकाको आवश्यक्ता छ । आन्दोलित पक्ष र सरकारलाई इमान्दार भएर प्रस्तुत हुन आग्रह गर्नु, त्यसको वातावरण मिलाउने कोसिस गर्नु र सबलाई मिलाएर निकास खोज्नु जरुरी छ । साथै भुईकम्प पीडित जनताको लागि आएको विदेशी अनुदान फर्कने अवस्था आउन लागेछ, त्यसलाई पनि छिटो व्यवस्थित गरेर पीडित जनताको आसु पुछ्नु जरुरी छ । अनि मात्र हामी सम्पुर्ण नेपाली एक भएर हाम्रो देशप्रति गलत सोच राख्ने तत्वहरुसँग लडेर पराजित गर्ने र हाम्रो देश धेरै कुराहरुमा अरु देशमाथि आश्रित छ, त्यसलाई सुधार्दै आफ्नै देशमा पनि विकल्पहरु खोजेर स्वाबलम्वी र राष्ट्रभक्त बन्न जरुरी छ ।

अन्त्यमा,

गैरआवासीय नेपाली संघका आन्तरिक विवाद केहि मित्रहरुको कारणले गर्दा समाजिक संजाल र पत्रपत्रिकामा आउँदा त्यो संस्थाको लागि राम्रो नभएको हुनाले, त्यस्तो गतिविधि नगरेर संस्थाको आन्तरिक बिवाद आफै बसेर मिलाउन र एक भएर एकताबद्ध रुपमा संस्थालाई अगाडी बढाउन पनि आग्रह गर्दछु ।

साथै फेरी एक पटक एनआरएनए सम्पुर्ण नेपालीको संस्था रहन दिनको लागि समस्त एनआरएनए मान्यवर ज्यूहरुलाई अनुरोध गर्दछु ।

धन्यवाद ।

चन्द्र किशोर साह
निवर्तमान अध्यक्ष
गैरआवासीय नेपाली संघ, साइप्रस

1 COMMENT

  1. पहाडी शासकको भनाइ छ, कि दुनियाको कुनै देश वा व्यक्तिले हाम्रो संबिधान बुझ्न सकेन ! नेपालको संबिधान दुनिया कै प्रगतिशिल संबिधान छ, किनभन्ने सभासद खरिद गर्ने, मधेशीलाई टुक्रा-टुक्रा पारि दास बनाउने र विगतको सन्धि-सम्झौतालाई लत्याएर संबिधान बनाउने दुनियाको पहिलो देश “नेपाल” हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.