आशिष गुप्ता, नेपालगंज, १५ मंसिर । नेपालगंज जमुनाहा नाकामा सोमबार राति प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । नाकामा रातको समयमा धर्ना दिएर बसेका प्रदर्शनकारीलाई प्रहरीले हटाउने क्रममा झडप भएको सदभावनाका नेता राम कुमारले बताएका छन् ।
नाकामा धर्ना दिएर बसेका प्रदर्शनकारीमाथि बल प्रयोग गर्दै प्रहरीले आन्दोलनको टेण्ट पनि जबरजस्ती हटाईदिएको आन्दोलनकारी विजय कुमार गुप्ताले बताए ।

यता, तराई मानव अधिकार रक्षक संजालका उपक्षेत्रीय संयोजक आलम खानले राति करिब ७ः४५ देखि १० बजेसम्म नेपालगंज जमुनाहा नाकामा आन्दोलनकारी, प्रहरी र केही पहाडी समुदायका युवाहरुबीच झडप भएको जनाएका छन् ।

उनले प्रहरी र पहाडी समुदायका युवाहरुले प्रदर्शनकारीमाथि गरेको आक्रमणमा १२ जना मधेशी आन्दोलनकारी घाईते भएको र एक जना प्रहरी जवान पनि घाईते भएको जनाएका छन् । घाईते हुनेमा प्रहरी जवान सन्द बस्याल रहेका छन् ।

खानले प्रहरीलाई अत्यधिक बल प्रयोग नगर्न र प्रदर्शनकारीलाई संयमित भई आफ्ना कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेका छन् भने उग्र पहाडी समुदायका युवाहरुलाई नियन्त्रण गर्न पनि प्रहरीसँग आग्रह गरेका छन् ।

छठ अगाडिसम्म पूर्ण रुपले खुला रहेको नेपालगंजको नाकामा छठपछि भने आन्दोलनकारीले कडाई गरेका छन् । उनीहरुले रातिको समयमा पनि पाल राखेर नाकामा धर्ना दिन थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.