हुलाकी न्यूज, १४ मंसिर । धनुषामा नेपाली कांग्रेसले मधेश आन्दोलनलाई समर्थन गर्दै निकाल्न लागेको जुलुसमा मधेशी आन्दोलनकारीले अवरोध पु¥याएका छन् ।
नेपाली कांग्रेसप्रति विश्वास नरहेको र पार्टीको ब्यानरमा ¥याली निकाल्न दिने भन्दै मधेशी मोर्चाका कार्यकर्ताले अवरोध पु¥याएका हुन् । जुलुस निकाल्ने तयारी गरेपछि सोमवार दिनभर जनकपुरमा कांग्रेसविरुद्ध प्रदर्शन भयो ।
आन्दोलनरत मधेशी मोर्चा र मधेशी गठवन्धनले कांग्रेस जुलुसको प्रतिकार गर्ने भन्दै प्रदर्शन गरेका थिए । कार्यालयनजिकै आन्दोलनकारीले टायर बालेर धर्ना दिएपछि कांग्रेस कार्यकर्ता सडकमा निस्कन सकेनन् ।
मधेश आन्दोलनलाई समर्थन गर्ने भए पार्टीको झण्डा छोडेर कालोझण्डामा आउन पनि मोर्चाका कार्यकर्ताले कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई सुझाव दिएका थिए । कांग्रेसको नेतृत्वमा सरकार रहेका बेला थुप्रै मधेशी मारिएको भन्दै मोर्चाका कार्यकर्ताले कांग्रेसको विश्वास गर्न नसकिने बताएका थिए ।
नेपाली कांग्रेस धनुषाले भने कालोझण्डासँगै पार्टीको झण्डासमेत राखेर आन्दोलनप्रति ऐक्यबद्धता जनाउने बताउँदै आएको छ ।
पूर्वघोषित कार्यक्रमअनुसार सोमवार ¥याली निकाल्ने तयारी गरेको कांग्रेसले मुठभेडको अवस्था आएको भन्दै तत्कालका लागि यो कार्यक्रम स्थगित गरेको जनाएको छ ।
मधेशकेन्द्रित दलसँग विगतमा भएका ८ र २२ बुँदे सम्झौता कार्यान्वयन हुनुपर्ने भन्दै आन्दोलनमा समर्थन गर्ने नेपाली कांग्रेस धनुषाले निर्णय गरेको थियो ।



