हुलाकी न्यूज ,जनकपुरधाम : आर्केष्ट्रामा आकर्षक तलब दिने प्रलोभन देखाएर बेचबिखनका लागि लगिएका ७ जना नेपाली युवतीलाई प्रहरीले उद्धार गरेको छ। भारतको बिहार पूर्वी चम्पारण छौडादानो नगर पञ्चायत ११ आदापुर बजारबाट प्रहरीले उनीहरुको उद्धार गरेको हो।
उनीहरुलाई भारतीय प्रहरी र आफन्त नेपालको समन्वयमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिएका हुन् ।मोबाइल खोसेर अध्याँरो कोठामा राखेका बेला उनीहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई झुक्याएर बेचबिखन गर्न लैजाने धनुषाकी एक महिला सहित दुईजनालाई समेत प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा छौडादानो बस्ने २५ वर्षीय विकास भन्ने विकेश कुमार र धनुषाको नगराइन नगरपालिका घर भइ छौडादानो बस्दै आएकी ममताकुमारी भन्ने अजिमा खातुन छन् ।दुबैजना विरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी खनालले जानकारी दिएका हुन् ।



